प्लान्ट नहुँदा अक्सिजन बाहिरबाट किन्ने बाध्यता
नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले अहिले अर्कै जिल्लाबाट किन्नुपर्ने बाध्यता रहेको छ । दोश्रो चरणको कोरोनाको प्रकोप यहाँ ह्वात्तै बढेपछि अक्सिजन प्लान्ट राख्नुपर्ने आवाज उठिरहेको छ ।

नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर मौज्दात अवस्थामा रहे पनि कुनैपनि बेला अभाव हुनसक्ने भएकाले यहाँ अक्सिजन प्लान्ट अति आवश्यक रहेको अस्पताल विकास समितिका सदस्य सुरेन्द्र गुप्ताले बताउनुभयो ।
पर्सा क्षेत्र नम्बर–२ का सांसद बिमल श्रीवास्तावले आफ्नो संसदीय विकास कोषबाट अक्सिजन प्लान्ट राख्न रु दुई करोड वीरगञ्ज महानगरपालिकालाई दिए पनि हालसम्म सो प्लान्ट स्थापना हुन नसकेकाले जुनसुकै बेला समस्या आउनसक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरले बताउनुभयो ।
मुख्य अक्सिजन सप्लायर्स भाजुरत्नले सप्लाई दिन नसकेको खण्डमा समस्या आउने जनाउँदै मेसु ठाकुरले अस्पतालले आफ्नो खर्च अक्सिजन प्लान्ट राख्ने सोच बनाएको बताउनुभयो ।
सप्लार्यसले प्रत्येक दुई घण्टामा मागअनुसारको अक्सिजन सिलिन्डर पठाउने गरेकाले हाल सोको अभाव देखिएको छैन । कोरोना संक्रमित बिरामीलाई होम आइसोलेसनमा जान भने पनि उनीहरु घर जान नमान्दा त्यस्ता बिरामीलाई पनि अक्सिजन दिनुपर्ने भएकाले अक्सिजनको बढी दुरुपयोग हुने गरेको बताइएको छ ।
अस्पतालको प्रयोशालामा शुक्रबार गरिएको परीक्षणमा ८६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । एक सय ३९ जनाको पिसिआर परीक्षण गर्दा ६३ पुरुष र २३ महिला गरी ८६ जनामा संक्रमण देखिएको अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिनुभयो । हालसम्म सो अस्पतालमा उपचारका क्रममा चैत यता आठ जनाको मृत्यु भइसकेको डा दासले बताए ।