नवलपुरमा सक्रिय संक्रमित ५० नाघ्यो, राति ९ बजेबाट व्यवसाय बन्द, अधिकांश पालिकाले गरे विद्यालय बन्द
रामकुमार श्रेष्ठ –
नवलपरासी, १३ बैशाख । पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या ५० नाघेको छ ।
पूर्वी नवलपरासीमा अहिलेसम्म सक्रिय संक्रमितको संख्या ५७ पुगेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
ति मध्ये २ जना मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत रहेका छन् भने बाँकी होम आइसोलेशनमा रहेका छन् ।
सोमबार दुई जना थपिएसँगै नवलपुरमा सक्रिय संक्रमितको संख्या ५७ पुगेको हो ।
राति ९ बजेपछि होटेल तथा बजार बन्द
नवलपुरमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि सोमबार बसेको जिल्ला स्तरको विपद व्यवथापन समितिले सोमबारदेखि राति ९ बजेदेखि होटल तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीका अनुसार सोमबारदेखि नवलपुरका सबै होटल तथा बजार व्यवसाय राति ९ बजेदेखि बन्द गर्ने निर्णय गरिएको हो ।
कावासोतीका हाजबजार र विद्यालय एक सातालाई बन्द
पुर्वी नवलपरासीको कावासोती नगरपालिकामा विद्यार्थीमा कोरोना संक्रमण देखिन थालेपछि कावासोतीका विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ ।
आईतबार बसेको नगरस्तरीय विपत व्यवस्थापन समितिको बैंठकले विद्यालयहरु र हाटबजारहरु शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको नगर स्तरीय विपत व्यवस्थापन समितिका संयोजक प्रेमशंकर मर्दनियाले बताए ।
नगरपालिकाको वडा नं. २ मा रहेको शिव मा.वि मा कक्षा १० मा पढने विद्यार्थीमा कोरोना संक्रमण देखिए पछि कावासोतिका विद्यालयहरु र हाटबजारहरु शुक्रबार सम्मको लागि बन्द गरिएको हो ।
२० गतेबाट सुरु हुने विद्यालय स्तरका बार्षिक परीक्षा भने तोकिएकै मितिमा सञ्चालन हुने जनाईएको छ ।
देवचुलीका विद्यालयहरु मंगलबारदेखि बन्द
संक्रमणको त्रास बढ्दै गए पछि पूर्वी नवलपरासीको देवचुली नगरपालिका भित्रका विद्यालयहरु पनि मंगलबारदेखि बन्द हुने भएको छ ।
देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठका अनुसार २० गते देखि हुने विद्यालय स्तरको बार्षिक परीक्षाको तयारी र कोभिडबाट बालबालिकालाई बचाउनका लागि मंगलबारदेखि नगरपालिका भित्रका सबै विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
गैडाकोटका शैक्षिक संस्था १५ दिनका लागि बन्द
पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाका शैक्षिक संस्थाहरु १५ दिनका लागि बन्द गरिएको छ ।
गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलका अनुसार मंगलबार अर्थात बैशाख १४ गतेदेखि बैशाख २८ गतेसम्मका लागि गैडाकोट नगर क्षेत्र भित्र रहेको सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिएको हो ।
विनयी त्रिवेणीमा पनि विद्यालय बन्द
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाका विद्यालयहरु पनि मंगलबारदेखि बन्द गरिने भएको छ ।
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीका अनुसार अर्को सूचना जारी नहुन्जेल सम्मका लागि विनयी त्रिवेणी गाउँपालिका भित्रका विद्यालयहरु मंगलबारदेखि बन्द गरिएको हो ।
२० गतेदेखि विद्यालय स्तरको बार्षिक परीक्षा हुने भए पनि स्थिति सामान्य रहे परीक्षा गर्ने तर अवस्था जटिल बन्दै गए परीक्षा समेत स्थगित गर्न सकिने गरी बन्द गरिएको जिसीले बताए ।
सीमा बन्द
पहिलो पटक कोरोनाको संक्रमण देखिना साथ बन्द भएको नवलपुरको भारतसँग सीमा जोडिएको त्रिवेणी नाका कोरोनाको दोस्रो लहर देखिन थालेपछि थप बन्द गरिएको छ ।
यहाँ भारत जाने र नेपाल आउन चाहने सबैलाई प्रशेव निषेध गरिएको छ ।
अस्पतालको अवस्था र पूर्व तयारी
पूर्वी नवलपरासीमा पछिल्लो एक सातामै कोभिड १९ का संक्रमितको दर बढ्न थाले पछि विरामी राख्ने अस्पतालको तयारी तिव्र पारिएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार जिल्ला अस्पताल मध्यविन्दु अस्पतालमा ६ वेडको आइसोलेशन कक्ष र ६ बेडको आइसियु कक्ष तयारी अवस्थामा राखिएको छ ।
त्यसैगरी जिल्ला अस्पतालमै थप १२ वेडको आइसोलशन कक्षको तयारी भईरहेको छ ।
त्यसका अलवा अन्य अस्पतालहरुमा पनि तयारी गरिए पनि अझै तयारी हुन सकेको छैन । सोमबार बसेको नवलपुर जिल्ला स्तरको विपद व्यवस्थापन समितिको वैठकले जिल्ला भित्र रहेको पालिका स्तरका अस्पतालहरु सबैलाई पालिका तहमा कम्तिमा ५ देखि १० वेडको आइसोलेशन कक्ष तयारी गर्न निर्देशन दिएको छ ।
छिमेकी जिल्ला चितवन जिल्लाको अस्पतालहरु भरिभराउ हुन थालेका कारण नवलपुरमै आइसियु कक्ष स्थापना गर्नु पर्ने नवलपुरलाई बाध्यता रहेको छ ।
पिसिआर परीक्षण
गण्डकी प्रदेश सरकारको सहयोगमा नवलपुरका जिल्ला अस्पतालमा स्वाब परीक्षणका लागि पिसिआर मेसिन राखिए पछि नवलपुरका यस पटक स्वाब संकलन र परीक्षणमा समस्या नहुने देखिएको छ ।
जिल्लामा एक दिनमा ३ सय सम्म स्वाब परीक्षण गर्न सकिने छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईका अनुसार जिल्ला अस्पतालमा रहेको पिसिआर मेसिनमा एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने छ भने कर्मचारी प्रयाप्त भए दैनिक ३ पटक सम्म गरी ३ सयको हाराहारीमा दैनिक स्वाब परीक्षण गर्न सकिने छ ।
