मन्त्रिपरिषद बैठक : सीसीएमसीको सिफारिस परिमार्जनसहित पारित
काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ । सोमबार साँझ पाँच बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो गरी बसेको थियो । आजको मन्त्रिपरिषद बैठक कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा केन्द्रित थियो ।
बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार सीसीएमसीले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिन गरिएको सिफारिस पनि बैठकले पारित गरेको छ । साथै सबै प्रकारका परीक्षा स्थगित गर्न र सबै विद्यालय बन्द गर्न सीसीएमसीले गरेको सिफारिस पनि बैठकले पारित गरेको छ ।
तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने सरकारको निर्णय
सरकारले कोरोना संक्रमण बढ्दै गए पनि तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको हो ।
देशभर सबै ठाउँमा लकडाउन नहुने स्थितिमा नागरिकलाई भैपरी आउँदा आवत-जावत सहज बनाउन हवाइ उडान तत्काललाई बन्द नगरिएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले रातोपाटीलाई जानकारी दिए । तर, हवाई यात्रुहरुले स्वास्थ्यसम्बन्धी मापदण्डहरु भने कडाइपूर्वक पालना गर्नुपर्ने मन्त्री ज्ञवालीले बताए ।
विदेशबाट आउने यात्रुमाथि कडाइ, होटल क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यकारी नियम
सरकारले तत्काल अन्तर्राष्ट्रिय हवाइ उडान बन्द नगर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अन्तर्राष्ट्रिय हवाइ उडान गर्ने कि नगर्ने भन्नेबारे लामो बहसपछि अन्तिममा तत्काल बन्द नगर्ने तर यात्रुहरूमाथि कडाइ गरिने निर्णय गरिएको हो ।
परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीका अनुसार विदेशबाट आउने नेपालीसहितका यात्रु अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । होम क्वारेन्टाइनमा बस्दा निगरानी गर्न कठिनाइ हुने भएकाले त्यस्ता यात्रुहरुले तोकिएको समयसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने बैठकले निर्णय गरेको मन्त्री ज्ञवालीले बताए ।
यसअघि त्यस्ता यात्रुलाई होटल क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यकारी व्यवस्था थिएन। उनीहरु आफ्नै घरमा क्वारेन्टाइनमा बसेपनि हुने व्यवस्था रहेकोमा हाल होटल क्वारेन्टाइन नै अनिवार्य गरिएको हो ।
सरकारले सीमा नाकामा आवतजावत रोकेन
भारतमा कोरोनाभाइरसको संक्रमण बढेर नेपालमा पनि फैलिरहेको र सीमा नाकामा बन्द गरिनुपर्ने आवाज उठ्दै आएपनि सरकारले तत्काल सीमा नाका बन्द नगर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँगको स्थल सीमा नाकाहरुबाट नेपालीहरुको आवतजावत बन्द नगर्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार सीमा नाका नेपालीलाई खुला गरिएपनि गैरनेपालीको हकमा भने विशेष अवस्थामा बाहेक आवतजावत गर्न दिइने छैन । सीमा नाका भएर नेपाल भित्रिने नागरिकको ‘जस्टिफाइ’ स्थानीय प्रशासनले गर्ने गरी सीमा व्यवस्थापन गरिने मन्त्री ज्ञवालीले बताए ।
