पोखरामा बुधबारदेखि निषेधाज्ञा, सवारीसाधन जोरबिजोर प्रणालीमा चल्ने
पोखरामा बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ। प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा सोमबार राति बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो।
‘हामीले कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरेका छौं,’ सिडिओ गौतमले भने, ‘सवारी साधनलाई भने केही छुट दिएका छौं।’ उनले जारी गरेको आदेशमा बुधबारदेखि जोरबिजोर प्रणालीमा सवारीसाधन चल्न दिने उल्लेख छ।
निषेधाज्ञामा सबै प्रकारका भेला, गोष्ठी, सेमिनार, सभा, सम्मेलन, भिडभाड, जुलुस, जात्रा, महोत्सब लगायतका गतिविधि गर्न निषेध गर्ने जनाएको छ।
यस्तै, विश्वविद्यालय, विद्यालयका पठन-पाठन, तालिम, प्रशिक्षण स्थगित गर्ने निर्णय गरेको छ।
निषेधाज्ञामा सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लब, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, जिमखाना, ब्युटी पार्लर, शेलुन लगायत पसलहरू खोल्न नदिने उल्लेख छ छ।
दैनिक उपभोग्य पसल, निर्माण सामाग्रीका पसल भने बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न दिने निर्णय गरेको सिडिओ गौतमले जानकारी दिए।
यस्तै, होटल तथा रेष्टुरेण्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ‘टेक अवे’ अर्थात खानेकुरा बसेर खान नपाउने लिएर जान पाउने गरी सञ्चालन गर्न दिने निर्णय गरिएको छ।
निषेधाज्ञामा तरकारी तथा फलफूल, औषधी पसल, पेट्रोल पम्पलगायत अत्यावश्यक सेवा भने सुचारु गर्न दिने निर्णय गरेको छ।
निषेधाज्ञा अवज्ञा गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ।
उक्त आदेश वैशाख २१ गते राति १२ बजेसम्म कास्की जिल्लाभर लागू हुने छ।
हालसम्म कास्कीमा ९ हजार २१० जना कोरोना संक्रमित भएका छन्। जसमा ८ हजार ४ सय २६ जना निको भएका छन् भने अहिले ६६४ जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
कोरोनाबाट कास्कीमा मात्रै हालसम्म १२० जनाको ज्यान गएको थियो। सोमबार मात्रै दुई जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ।
