कोरोना रोकथामका लागि देवचुलीका प्रतिनिधिलाई तालिम

देवचुली,
देवचुली नगरपालिकामा कोरोना भाइरस रोकथामका लागि देवचुलीका विभिन्न टोल विकास समितिका प्रतिनिधि तथा सरोकारवालाहरुलाई सचेतनामुलक तालिम प्रदान गरिएको छ । मंगलबार देवचुली स्वास्थ्य शाखाको आयोजनामा दलदले साहारा पार्टी प्यालेसमा वडा नं १३ र १५ का टोल विकास समितिका प्रतिनिधि तथा सरोकारवालाहरुलाई तालिम दिइएको हो ।

कार्यक्रममा देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले नेपाल लगायत विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को महामारी यस देवचुलीमा समेत संक्रमण बढ्दै गएकोले सोको रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको जानकारी गराउनुभयो ।

कोरोना भाइरसका लक्षण जस्तैः ज्वरो आउने, टाउको दुख्ने, सिगान आउने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, जोर्नी दुख्ने, खाना मिठो नहुने जस्ता समस्या देखा पर्दा के गर्ने, संक्रमण व्यक्तिसँग नजिकहुँदा १ देखि १४ दिन भित्र लक्षण देखा पर्ने त्यो समय के गर्ने, दैनिक रुपमा प्रयोग गर्ने मास्क र सेनिटाईजर कसरी प्रयोग गर्ने, कोभिड १९ रोगको भाइरस सर्ने माध्यम के–के हुन जस्ता विभिन्न विषयमा जानकारी गराइएको थियो ।