कावासोती नगरपालिकाले नगरपालिकाका १ सय ४ घर विपन्न परिवारको घर बनाउदै
नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्र रहेका विपन्न परिवारका लागि १ सय ४ वटा घर बनाइदिने भएको छ ।
विपन्न समुदायका लागि आवास कार्यक्रम अन्तरगत १५ वटा, जनता आवास कार्यक्रम अन्तरगत १२ वटा र खरको छानो विस्थापन कार्यक्रम अन्तरगत ७७ वटा गरी १ सय ४ वटा घर निर्माण गर्ने तयारी भएको कावासोती नगरपालिकाका नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले बताए ।
कावासोती नगरपालिका भित्र रहेका विभिन्न वडाका विपन्न परिवार छनौट गरेर घर निर्माण गर्न थालिएको हो । त्यसका लागि कार्यक्रम अनुसारको उपसमिति निर्माण गरेर जिम्मा लगाइएको उनले बताए ।
जनता आवास कार्यक्रम अन्तरगत प्रतिघर साढे ३ लाख, विपन्न समुदायका लागि आवास कार्यक्रम अन्तरगत प्रतिघर २ लाख र खरको छाने विस्थापन कार्यक्रम अन्तरगत प्रतिघर ५० हजार रुपैयाँका दरले घर निर्माणमा सहयोग गरिने मर्दनियाले बताए ।
असार मसान्त भित्र घर निर्माण सकेर हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
