शब्दचित्रमा भारतको कोभिड संकट: घाटमा लासकाे लस्कर

भारतमा कोरोनाभाइरस महामारीको घातक दोस्रो लहरका कारण अस्पताल र मसानघाटहरूले चाप थेग्न सकेका छैनन् भने अक्सिजन तथा औषधिको व्यापक अभाव भइरहेको छ।त्यहाँ के भइरहेको छ र त्यसबारे अधिकारीहरूले के गरिरहेका छन् भन्ने विषयामा यहाँ सचित्र विवरण प्रस्तुत गरिएको छ:
अभूतपूर्व सङ्ख्यामा सङ्क्रमण र मृत्यु
भारतमा नयाँ भेरिअन्टको पनि असरले गर्दा सङ्क्रमण तथा बिरामीको मृत्यु हुने सङ्ख्या तीव्र गतिमा बढिहरेको छ।सोमवार लगातार पाँचौँ दिन त्यहाँ रेकर्ड सङ्ख्यामा नयाँ सङ्क्रमितहरू फेला परे। सर्वाधिक सङ्ख्यामा दैनिक मृत्यु पनि भयो।
तर सङ्क्रमणका मामिलाको अनि मृत्युको वास्तविक सङ्ख्या अधिकारीहरूले दिएकोभन्दा निकै धेरै हुनसक्छ। कैयौँ मानिसहरूले परीक्षण गराएका छैनन् वा गराउन सङ्घर्षरत छन्। ग्रामीण भेगमा भएका कैयौँ मृत्युको दर्ता पनि गरिँदैन।राजधानी दिल्लीमा चिकित्सकहरूले मानिसहरू अस्पतालबाहिर मरिरहेको विवरण दिएका छन्।
भारतले हालसम्म कुल एक करोड ७३ लाख जनामा कोभिड भएको र दुई लाख जनाको भएको पुष्टि गरेको छ। भाइरोलजिस्टहरू त्यहाँ अझै दुईदेखि तीन सातासम्म सङ्क्रमण दर बढिरहने ठान्छन्।
सघन उपचार शय्या एकदमै थोरै बाँकी
देशमा सघन उपचारका वार्डहरूको सधैँ अभाव हुने गरेको छ। बिरामीका आफन्तहरूले आफ्ना मान्छेका निम्ति शय्या खोज्न धेरै टाढासम्म पुग्ने गर्छन्।करिब दुई करोड मानिसको बसोबास रहेको दिल्लीमा अस्पतालहरू भरिएका छन् र नयाँ बिरामी फर्काइएका छन्।
अस्पताल बाहिरका कैयौँ गल्लीहरूमा गम्भीर बिरामीहरूको भिड लागेको छ। तिनका आफन्त स्ट्रेचर तथा अक्सिजन जुटाउन लागिपरेका छन् अनि अस्पतालका अधिकारीहरूसँग भित्र बस्न ठाउँको निम्ति याचना गरिरहेका छन्।हामीले तीन दिनदेखि शय्या खोजिरहेका छौँ,” आफ्नी पत्नीलाई सडकमै बसाएका एक पुरुषले रोएटर्स समाचारसंस्थालाई भने।
सोमवार सरकारले सैन्य मेडिकल पूर्वाधारहरू पनि गैरसैनिकका निम्ति उपलब्ध गरायो। साथै सेनाबाट अवकाश पाइसकेका औषधोपचारमा प्रशिक्षित जनशक्तिलाई कोभिड अस्पतालमा मद्दत गर्न पठाइने बतायो।