कावासोतीका एम्बुलेन्स चालकले पाएनन भत्ता
नवलपरासी । कावासोती नगरपालिकाले कोभिड १९ को पहिलो चरणको संक्रमणको बेला अग्रमोर्चामा खटेर काम गर्ने अन्यलाई सरह एम्बुलेन्स चालकलाई पनि भत्ता दिने जनाए पनि कावासोतीका एम्बुलेन्स चालकहरुले भने भत्ता नपाएको गुनासो गरेका छन् ।
कावासोती नगरपालिका भित्र रहेका ७ वटा एम्बुलेन्सलाई कोभिडका संक्रमितहरुलाई बोक्न छुट्याइएको भए पनि उनीहरु मध्ये एउटालाई मात्र भुक्तान दिएको र अन्यले भने भुक्तान नपाएको नेपाल रेडक्रस सोसाइटी कावासोतीका एम्बुलेन्स चालक गोपीराम ब्लोनले बताए ।
कावासोती नगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक एवम् कावासोती नगरपालिकाका नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले भने संकटको बेला संक्रमितलाई नबोकेर अधिकांश एम्बुलेन्स चालकहरु एउटा एउटा बाहानामा नआएका कारण त्यति बेला काम गरेकालाई मात्र भुक्तान दिएको र काम नगर्नेलाई नदिने निर्णय अनुसार नदिएको बताए ।
नेपाल रेडक्रस सोसाइटी कावासोतीका पूर्व अध्यक्ष एवम् जिल्ला रेडक्रस सोसाइटी नवलपुरका कोषाध्यक्ष ऋषि कंडेलले भने त्यति बेला काम गर्नेले पनि भुक्तान नपाएको दावी गरे । उनले भने – काम नगर्नेहरुको बाहानामा काम गर्नेहरुलाई पनि भत्ता दिनबाट बन्चित गरिनु भएन ।
