लकडाउन हुने भएपछि चितवन छाड्ने बढे


७७औँ जिल्लाको उपनाम दिइएको चितवनमा बिहीबार रातिदेखि पुनः ‘लकडाउन’ भएको छ । चीनको वुहान सहरबाट विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर सुरू भएपछि राजधानीसहित देशका मुख्य सहर तथा सङ्क्रमणको जोखिमयुक्त जिल्लाहरुमा सम्बन्धित प्रशासनले लकडाउन गरेको हो ।



रातिदेखि लकडाउन हुने भएपछि चितवन जिल्लाबाट धेरै मानिसहरु बाहिरिएका छन् । विशेषगरी गोरखा, लमजुङ, तनहुँलगायत छिमेकी जिल्लाका मानिसहरु बाहिरिएका छन् । बसपार्क काउन्टरमा कार्यरत कर्मचारीका अनुसार अन्य दिनको तुलनामा बिहीबार दोब्बरभन्दा बढी यात्रु बाहिरिएका छन् ।

‘हरेक दिन करिब ८०० देखि एक हजार जना मानिसहरूको आउजाउ हुने गरे पनि बिहीबार भने करिब तीन हजारभन्दा बढी मानिसहरु बाहिरिएका छन्’, पृथ्वी राजमार्ग बस सञ्चालक प्रालि तथा पुरानो नारायणी यातायात कम्पनी प्रालिका कर्मचारी सचिन श्रेष्ठले भने, ‘विशेषगरी जागिर गर्ने, विद्यार्थी र बालबच्चाको पढाइका लागि चितवन आएकाहरु बाहिरिएका छन् ।’ यात्रुको चाप बढी भएकोले दैनिक एउटामात्रै गाडी छुट्ने स्थानमा पनि दुईवटा गाडी पठाइएको उनले बताए । ‘नारायणगढ–भच्चेकको रूटमा दैनिक एउटा बस चल्थ्यो, आज दुईवटा बसमा पनि खाँदिएर पठाउनुप¥यो’, उनले भने ।




उनका अनुसार दिउँसो ४ बजेसम्ममात्रै बस छुट्ने बेसीशहरका लागि करिब साढे २ बजे नै नियमित चल्ने बस छुटिसकेको थियो । ‘नियमित बस छुटेर पनि चारवटा बस पठाउनुप¥यो’, उनले भने, ‘भरतपुर–नारायणगढ क्षेत्रमै घर भएका बस पनि राति फर्किने गरी पठाएका छौँ ।’ चितवन जिल्लाबाट कति मानिस बाहिरिए भनेर यकिन तथ्याङ्क यहाँको यातायात व्यवसायी समिति, प्रहरी, ट्राफिक तथा जिल्ला प्रशासन कसैसँग पनि छैन । तर, बिहीबारको सवारी चापलाई आधार मान्ने हो भने बाहिरिनेको संख्या अन्य दिनको तुलनामा धेरै नै भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

‘गोरखा, लमजुङ र तनहुँ जाने बसहरुमा यात्रुको संख्या हेर्ने हो भने बिहीबार अन्य दिनभन्दा दोब्बर बढी नै यात्रु रहेको अनुमान लगाउन सकिन्थ्यो’, प्रहरी निरीक्षक भगवान थापाले भने । काठमाडौँ जाने र देशको पूर्व–पश्चिम जाने बसको चाप नभए पनि चितवनसँग जोडिएका नजिकका पहाडी जिल्ला जाने यात्रुको संख्या बढी नै भएको उनले बताए । दैनिक कति यात्रु बाहिरिन्छन् भन्ने विषयमा भने चारवटा नाका भएकोले पनि हालसम्म तथ्याङ्क नराखिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

लकडाउन हुने भएपछि भरतपुर विमानस्थलमा पनि चाप बढेको थियो । भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरका अनुसार बिहीबार नियमित उडानमात्रै भए पनि बुधबार र मंगलबार नियमितभन्दा थप उडान पनि भएको थियो ।

‘सरकारले नै आफ्नो गन्तव्यसम्म पुग्ने समय दिएपछि स्वाभाविकरुपमा यात्रुको चाप बढ्ने नै भयो’, उनले भने, ‘बुधबार थप चारवटा उडान भएका थिए ।’ भरतपुर विमानस्थलमा यात्रुको जाने–आउने चाप उत्तिकै रहेको उनले बताए । भरतपुरबाट यती र बुद्धका गरी १५ वटा उडान नियमित हुने गरेका छन् ।

सडकमार्गमा सार्वजनिक यातायातका साधन नचले पनि हवाई यातायात बन्द नहुने भएकोले लकडाउन अवधिभर पनि विमानस्थलको उडान नरोकिने उनले बताए । तर, प्रमुख जिल्लाहरुमा हुने नियमित गतिविधि नै बन्द भएपछि उडान संख्या भने स्वाभाविकरुपमा कम हुने उनको भनाइ छ । ‘प्रशासनको स्वीकृतिका आधारमा अत्यावश्यक अवस्थाका यात्रुमात्रै आउने हुँदा उडान संख्या यसै पनि कम हुन्छ’, उनले भने ।



सम्बन्धित
Loading...