विप्लवका दाजु विरजंग रिहा, यही व्यवस्थाबाट परिवर्तन सम्भव छैन, संघर्षबाट व्यवस्था परिवर्तन गर्नु पर्छ




नवलपरासी, १७ बैशाख । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र विप्लका दाजु चन्द्र विक्रम चन्द वीरजंग रिहा भएका छन् ।

जिल्ला अदालत पश्चिम नवलपरासीको आदेश पछि उनलाई रिहा गरिएको हो । अदालतले २५ हजार धेरौटीमा रिहा गर्न विहीबार आदेश दिएको भए पनि कागजी प्रक्रिया पुरा गर्न ढिलो हुँदा शुक्रबार रिहा भएका हुन् ।




केन्द्रिय सदस्य बाला थापाका अनुसार वीरजंग शुक्रबार जिल्ला अदालत पश्चिम नवलपरासीमा २५ हजार धरौटी बुझाएर रिहा भएका हुन् । उनी अहिले गृह जिल्ला कपिलवस्तु लागेका छन् ।

हिरा पछि प्रतिक्रिया दिंदै नेकपाका केन्द्रिय सदस्य वीरगञ्जले अहिलेको व्यवास्थाबाट परिवर्तन सम्भव नभएकोले व्यवस्थानै परिवर्तन गर्नु आवश्यक रहेको बताए ।

उनले भने –यो व्यवस्थाबाट परिवर्तन सम्भव छैन, दलाल संसदीय व्यवस्थालाई परास्त गर्न वैज्ञानिक समाजवादमा जानका लागि संघर्षको विकल्प छैन ।

वीरगंजले संघर्षका लागि जनता संगठित गरेर जानुको विकल्प नभएको बताए । उनले भने – यो राज्य सत्ताले कस्ता रवैया अपनाउँछ सोही अनुसारको संघर्ष गर्नु पर्ने हुन्छ । त्यो जस्तो सुकै पनि हुन सक्छ ।

उनले आफ्नो पार्टीले पुन हतियार उठाउन सक्ने संकेत समेत गरे ।

२०७६ असोजमा गिरफ्तारका उनलाई दाङमा १० महिना, काभ्रेमा १ महिना, भोजपुरमा १ महिना, संखुवासभामा १७ दिन, सुनसरीमा १९ दिन, ललितपुरमा १३ दिन, काठमाडौंमा २ दिन, पश्चिम नवलपरासीमा ८ दिन गरी त्यस पछि चितवन काराकार राखिएको थियो ।
जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उनलाई २०७७ असोज २८ गते चितवन कारागारमा ल्याइएको थियो ।
अघिल्लोपटक कोभिडसमेत भएर कमजोर बनेका वीरजंगलाई घाँटी र पेटमा समेत समस्या आएको थियो ।

वीरगञ्ज आफू काराकारमा रहँदा आस्थाको बन्दी सरह व्यवहार भएको र कुनै यातना नदिइएको समेत बताए ।
उनले बम विस्फोटको मुद्दामा कारागार चलान भएका थिए ।

सरकार र नेकपा विप्लव समूहबीच शान्तिपूर्ण राजनीतिमा आउने सहमति भएपछि प्रहरी हिरासतमा रहेका नेकपाका नेता कार्यकर्ताहरु छुट्ने क्रम जारी छ ।

यसअघि वीरजंगलाई विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा बयानका लागि उपस्थित हुन रुपन्देही जिल्ला अदालतले २१ दिने सूचना जारी गरेको थियो ।

  • संक्षिप्त टेलिफोन कुराकानी 

संघर्ष जस्तो पनि हुन सक्छ:  वीरजंग

 

रिहा हुनु भयो, काराकारमा रहँदा कस्तो व्यवहार पाउनु भयो ?

राजनीतिक आस्थाका बन्दी सरह व्यवहार भएको थियो । कुनै यातना दिइएन ।

अबको राजनीतिक लडाई के हुन्छ ?

यही व्यवस्थाबाट देशमा कुनै परिवर्तन आउने वाला छैन । त्यसैले दलाल संसदीय व्यवस्थालाई परास्त गरेर वैज्ञानिक समाजवाद तर्फ उन्मुख हुनुपर्छ । त्यही नै हो अबको बाटो पनि ।

त्यो परिवर्तन ल्याउनका लागि अपनाइने बाटो कस्तो हुन्छ ?

संघर्षकै बाटो हो । चुनावमा गएर यो व्यवस्था परिवर्तन गर्न सम्भव छैन । जनतालाई संगठित गरेर संघर्षमा नै जानु पर्छ ।

संघर्ष कस्तो खाले हुन्छ ? फेरि पनि हतियार उठ्छ कि ?

यो राज्य सत्ताले कस्तो रवैया अपनाउँछ त्यस्तै खाले हुन्छ संघर्ष । देशका उर्जाशिल युवा शक्ति विदेश पलाएन भएका छन् । देशमा भएका युवाहरु जेलमा छन् । कोरोनको विकराल अवस्थामा राज्यले कुनै उचित कदम चल्न सकेको छैन । यि सबै कुरा हेर्दा पनि थाहा हुन्छ । यो व्यवस्थाबाट परिवर्तन सम्भव छैन । त्यसैले संघर्ष जस्तो पनि हुन सक्छ । राज्यको रवैयामा भर पर्छ ।

भने पछि हतियार पनि उठ्न सक्छ ?

उठ्न सक्छ । राज्यले गर्ने व्यवहार र रवैयामा भर पर्छ ।



सम्बन्धित
Loading...