कोरोनाको प्रभाव : कुमरोज वनमा ६० प्रतिशत घट्यो आम्दानी

84












रत्ननगर । पर्यापर्यटनलाई मुख्य आम्दानीको स्रोत बनाएको खैरहनीको कुमरोज मध्यवर्ती सामुदायिक वनमा कोरोना महामारीको असर परेको छ । कोरोना महामारीका कारण यहाँ आउने पर्यटकको संख्यामा कमी आएको छ भने आम्दानी ६० प्रतिशत घटेको छ । सो सामुदायिक वनले चितवनको पर्यटकीय नगरी सौराहालाई आधार मानेर पर्यापर्यटन सञ्चालन गरिरहेको छ । कोरोनाका कारण सौराहाको पर्यटन सुस्ताएपछि सो वनको आम्दानी ६० प्रतिशत घटेको हो ।


पर्यापर्यटनबाट आर्थिक वर्ष २०७६÷७७ मा २ करोड १० लाख आम्दानी गरेको सो सामुदायिक वनले चालू आर्थिक वर्षको ६ महिनामा १ करोड २५ लाख रूपैयाँ आम्दानी गरेको छ । कोरोनाका कारण चालू आर्थिक वर्षको चार महिना आम्दानी शून्य भयो । कार्तिक महिनाबाट आन्तरिक पर्यटक आउन थालेपछि आम्दानी गर्न सुरू गरिएको हो । कार्तिकदेखि चैत मसान्तसम्म ६ महिनाको अवधिमा १ करोड २५ लाख रूपैयाँ आम्दानी गर्न सफल भएको वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए ।

कोरोनाको दोस्रो लहर सुरू भएका कारण चालू आवको दुई महिना पर्यटन ठप्प हुने र आन्दानी शून्यमा झर्ने आँकलन गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा भने सो सामुदायिक वनले पर्यापर्यटनबाट ४ करोड रूपैयाँ आम्दानी गर्न सफल भएको थियो । सो सामुदायिक वनले पर्यापर्यटन सञ्चालनका लागि हात्ती सफारी, जिप सफारी र टावर नाइट बसाइँ कार्यक्रम सञ्चालन गरेको छ । हात्ती सफारी, जिप सफारी र टावर नाइट बसाइँबापत लिने शुल्क नै वनको मुख्य आम्दानीको स्रोत हो ।

उक्त वनले एउटा जिपबाट प्रवेश शुल्कबापत एक हजार ५०० रूपैयाँ, हात्ती सफारीमा विदेशी पर्यटकलाई जनही एक हजार र स्वदेशी पर्यटकलाई जनही ४०० रूपैयाँ प्रवेश शुल्क लिने गरेको छ । टावरमा बास बस्नका लागि एउटा पर्यटकलाई ६०० रूपैयाँका दरले शुल्क लिने गरिएको वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले जानकारी दिए । हात्ती, जिप र टावर नाइट बस्नका लागि समूहमा पर्यटक आउने भएका कारण पर्यटकको संख्या यकिन गर्न नसकिएको उनको भनाइ छ । ‘हामीले पर्यटकलाई प्रदान गर्ने सेवा लोभलाग्दो छ’, उनले भने, ‘तर कोरोनाका कारण सौराहाको पर्यटन सुस्तायो, त्यसको असर हामीले पनि भोग्न बाध्य छौँ ।’

 



You might also like
Loading...