सवारी दुर्घटनामा ७ जनाको मृत्यू
नेपालका विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यू भएको छ।दाङ, मोरङ, बाँके, बाजुरा, चितवन र धनुषाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो । 
दाङ, घोराही उपमहानगरपालिका चैनपुर नजिक रा१ ख ४६८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने हिरा महराकी छोरी ५ वर्षीया सीमा महराको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको बेलबारी नगरपालिका चिस्याङ खोलास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका बस्ने ८३ वर्षीया मनमाया तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी मोरङ, लेटाङ नगरपालिका स्थित सडकमा को१ ख १९२४ नम्बरको बसबाट झर्ने क्रममा सोही बसले किच्दा बसमा सवार मिक्लाजुङ गाउँपालिका ५ जोगीटार बस्ने ५१ वर्षीय सहबिर मगरको मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको राप्तिसोनारी गाउँपालिका ढकेरी सिमलचोकस्थित सडकमा भे१ त ७९९१ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २७ वर्षीय दिपक पुनको घटनास्थलमै मृत्यु भएको छ ।
बाजुरा, स्वामिकार्तिक खापर गाउँपालिका ३ भण्डारी वाडास्थित सडकमा अनटेष्ट लेखिएको ट्याक्टरको ट्रलीमा चड्ने क्रममा लडेर सोही गाउँपालिका जुकोट बस्ने अंगे कडराको छोरा ९ वर्षीय जगत कडराको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका ४ पिपल चोकस्थित सडकमा चौबिसकोठीबाट रामपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल वतन नखुलेका ७५ वर्षीय तुल बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा शंकास्पद २ वटा सवारी साधन तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, मिथिला नगरपालिका १० लालगढस्थित सडकमा एनएल ०१ जि ४०४१ नम्बरको लहरी ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब २६ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।