कोरोनाविरुद्ध लड्न स्वास्थ्य ऐन बनाउन स्वास्थ्य कार्यालयको सुझाव
चितवनका सात पालिकाहरुलाई कोरोनाविरूद्ध लड्न स्वास्थ्य ऐन, नियमावली र मापदण्डहरु बनाउन सुझाव दिइएको छ। स्वास्थ्य कार्यालय चितवनले यतिबेला स्वास्थ्य ऐन, नियमावली र मापदण्डहरु बनाएर अघि बढे कोरोना भाइरसविरूद्ध लड्न सहज हुने जनाएको छ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले संघीय जनस्वास्थ्य नियमावली, प्रादेशिक जनस्वास्थ्य नियमावलीसँग नबाझ्ने गरी स्वास्थ्य ऐन, नियमावली तथा मापदण्डहरु बनाउने अधिकार पालिकालाई भएको बताए।
उनले भने, ‘मापदण्ड, नियमावली बनाउन स्थानीय तहले पाउँछन्, यो बेला उनीहरुले नियमावली बनाएर अघि बढे कोरोनाविरूद्ध लड्न सहज हुन्छ भने सेवासुविधाहरु पनि प्रभावकारी रहन्छ।’ उनका अनुसार भरतपुर महानगरपालिकाले यसअघि नै भरतपुर महानगर जनस्वास्थ्य ऐन नगरसभाबाट पास गरिसकेको छ।
उनले भने, ‘कुनै न कुनै ऐन, मापदण्ड तथा नियमावली सबै पालिकाले बनाएका छन्, तर सबै पालिकाहरुमा नियमावली र मापदण्डहरु पास भइसकेको छैन।’
खैरहनी नगरपालिकाले निजी स्वास्थ्य संस्था नियमन, अनुगमन तथा स्वीकृति कार्यविधि तयार पारेको छ, तर पास गरिसकेको छैन। खैरहनी नगरपालिकाका स्वास्थ्य शाखाका अनुप अधिकारीले अब बस्ने कार्यपालिकाको बैठकले सो कार्यविधि पास गर्ने बताए। उनले भने, ‘यसले कोरोनाविरूद्ध लड्न कुनै समस्या पार्दैन, तर अब छिटै पास गर्दैछौँ।’
भरतपुर महानगर स्वास्थ्य शाखा प्रमुख सूर्य सुवेदीले जनस्वास्थ्य ऐन पास गरेका र यसलाई प्रभावकारीरुपमा अगाडि बढाउने बताए। उनले भने, ‘कोभिडविरूद्ध लड्न ऐनले कुनै समस्या पार्दैन, महानगरले त ऐन पनि पास गरिसकेको छ।’
कालिका नगर अस्पतालका जनस्वास्थ्य अधिकृत विश्व रेग्मीले कालिका नगरपालिकामा पनि स्वास्थ्य ऐन नबनेको बताए। उनले भने, ‘संघीय सरकारको कानुनअनुसार अगाडि बढिएको छ, तर स्वास्थ्य ऐन भनेर तयार भएको छैन। उनका अनुसार पालिकाहरुले स्वास्थ्य ऐन, निर्देशिका तथा मापदण्डहरु बनाउन जरूरी छ। उनले भने, ‘नगरवासीलाई थप स्वास्थ्य सुविधा दिने हो भने पालिकास्तरको स्वास्थ्य ऐन चाहिन्छ, मापदण्डहरु बनाउनुपर्छ।
उनका अनुसार वृद्धवृद्धाको स्वास्थ्य जाँच र उपचार, पूर्ण खोप, गर्भवती जाँचलगायतका काममा स्वास्थ्य ऐनको भूमिका रहन्छ। स्वास्थ्य कार्यालय चितवनले यहाँका पालिकाहरुले कुनै न कुनै ऐन तथा मापदण्डहरु बनाएका छन्, तर अझै अपुग भएको जनाएको छ। कार्यालय प्रमुख दीपक तिवारीले भने, ‘चितवनका सबै पालिकाहरुले कि ऐन कि मापदण्ड कि नियमावली बनाएका छन्। खैरहनीको पास हुन बाँकी छ। इच्छाकामना, माडी, राप्तीले मापदण्ड तयार पारेका छन्।’
उनका अनुसार यतिबेला ऐन तथा मापदण्डहरुलाई कडाइ गर्ने समय आएको छ। कोभिडविरूद्ध लड्न ऐन नियम तथा नियमावलीलाई कडाइ गर्न आवश्यक छ।