कारभित्र मृत भेटिएका तीन बालकको पहिचान खुल्यो, कारका मालिक र चालक पक्राउ
दाङमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत फेला परेका तीन बालक एउटै परिवारका रहेको खुलेको छ । तीनै बालक तुलसीपुर उपमहानगरपालिका ६ बरूवा गाउँका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेट जे ०१६६०८८५ निशान कार भित्र तीन बालकको शव भेटिएको थियो ।
प्रहरीले अनुसन्धानका लागि गाडी मालिक यादब प्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ ।
कारभित्र मृत भेटिएकाहरु स्थानीय किरण परियारका छोरा ६ वर्षीय करण, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास र भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दिप रहेका छन् । सुवास र करण दाजुभाइका छोरा हुन् ।
शवलाई परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ। अभिभावकले आफ्ना छोराहरू वैशाख १६ गतेदेखि हराइरहेको भन्दै १७ गते प्रहरी कार्यालयमा खोजिविनका लागि निवेदन दिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट आएको कुकुर सहित एक्सपट टोलीले घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ
मृतक बालकका आफन्तले आफ्ना सन्तानको हत्या भएको दाबी गर्दै हत्यारा पक्राउ गरी कार्वाही गर्न माग गरेका छन् ।
उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको र २०७७ माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।