मोरङमा कोरोना संक्रमणबाट भारतीय नागरिकको मृत्यु


मोरङमा उपचाररत कोरोना भाइरस संक्रमित एकजना भारतीय नागरिकको आइतबार मृत्यु भएको छ ।



नेपालसँग सीमाना जोडिएको भारत जोगवनीका ३० वर्षीय पुरुषको उपचारका क्रममा मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा ज्यान गएको हो । विराट कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार भारतीय नागरिकको बिहान ७:१० बजेतिर मृत्यु भएको हो ।

अस्पतालले प्राप्त गरेको जानकारी अनुसार व्यापारको सिलसिलामा जोगवनीबाट नेपाल आएका उनी आफन्तको घरमा बस्दै आएका थिए । कोरोना पुष्टि भएपछि उनलाई वैशाख १० गते उपचारका लागि भर्ना गरिएको थियो । मृतकमा निमोनियाको पुरानै समस्या रहेको देवले बताए । मृतकको शव व्यवस्थापन कसरी गर्नेभन्ने विषयमा सरोकारवाला निकायसँग समन्वय भइरहेको उनको भनाइ छ ।




कोरोना संक्रमित दुई वृद्धाको पनि मृत्यु 

विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित दुईजना वृद्धा महिलाको पनि मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ज्यान गएको हो ।

विराटनगर महानगरपालिका–६ की ६८ र सुनसरी ठेगाना भएकी ६० वर्षीया वृद्धा महिलाको मृत्यु भएको कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए । उनका अनुसार कोरोना पुष्टि भएपछि विराटनगरकी वृद्धालाई वैशाख १६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार बिहान ६ :४० बजेतिर ज्यान गएको राजवंशीले बताए ।

त्यस्तै सुनसरीकी महिलालाई भने शनिबार नै ल्याएर आइसोलेसनमा भर्ना गरी उपचार थालिएको थियो । उनको राति ९ बजेतिर मृत्यु भएको जानकारी राजवंशीले दिए । दुवै मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको उनले बताए ।



सम्बन्धित
Loading...