महामारीको मार : चितवनलाई धेरै जिल्लाको भार
चितवन, १९ चैत (रासस) । ‘मेडिकल सिटी’का रुपमा परिचित चितवनले कोरोना महामारीको अहिलेको समयमा २० भन्दा बढी जिल्लाको भार थेग्नु परेको छ । सामान्य अवस्थामा समेत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामी उपचार गर्न आउने चितवनले अहिलेको कोरोना महामारीको समयमा पनि सङ्क्रमितको उस्तै भार थेग्नु परेको हो ।
जिल्लामा केन्द्रीयस्तरको भरतपुर अस्पताल, दुईवटा ठूला मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल, एक आँखा अस्पताल र २४ वटा निजी अस्पताल रहेका छन् । ती अस्पतालमा जिल्लासहित छिमेकी जिल्लाका बिरामी नियमित उपचारका लागि आउने गर्दछन् । क्यान्सरदेखि आँखा हुँदै विभिन्न रोगका विशेषज्ञ चिकित्सक उपलब्ध हुने हुँदा बाहिरी अर्थात् अन्य जिल्लाबाट उपचारका लागि चितवनलाई रोज्ने गरिन्छ । ठूला अस्पतालहरुमा आधुनिक चिकित्सा विज्ञानका उपकरणहरु पर्याप्त हुँदा सबै खालका उपचारका लागि चितवन सहज हुने गरेको छ ।
सधैँको सहजता मनन गर्दै सङ्क्रमणको समयमा समेत सुविधा पाउने आशामा सोझै यहाँ आउनेहरुको सङ्ख्या निकै ठूलो छ । त्यसो त छिमेकी जिल्लाका साना अस्पतालहरुले गम्भीर बिरामीहरुलाई सोझै यहाँ रिफर गर्ने गरेका छन् । कतिपय उपचारका लागि राजधानी काठमाडौँ जाँदै गरेका बिरामीसमेत यही रोकेर उपचार गर्ने गरिएको छ ।
दुई दिनअघि चितवन मेडिकल कलेजमा पिसिआर परीक्षण गर्दा एकै दिन चितवनसहित २० जिल्लाका बिरामीमा सङ्क्रमण देखिएको थियो । कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार केही दिनयता मात्रै जिल्लाका अस्पतालहरुमा २५ जिल्लासम्मका सङ्क्रमित उपचारका लागि आएका छन् । उनले भने, “पश्चिमको कैलाली, नेपालगञ्ज, सुर्खेत, दाङ, प्यूठान, बुटवल, भैरहवा, नवलपरासीलगायतका जिल्लाका बिरामी उपचारका लागि आएका छन् ।” उनले पूर्व मकवानपुर, पर्सा, बारा, रौतहटलगायत जिल्लाबाट पनि बिरामी आउने गरेको जानकारी दिए । कतिपय त्यहाँका अस्पतालले नै रिफर गरेर पठाएका छन् भने कतिपय सोझै यहाँ आएका छन् ।
लम्सालले थपे, “भरतपुर गएपछि उपचार पाइहालिन्छ भनेर आउने सङ्ख्या ठूलो छ ।” अब अस्पतालहरुमा कोभिड नभएकाहरु घट्दै जाने र कोभिड भएकाहरुलाई बढाउँदै लैजानुको विकल्प नभएको उनको भनाइ छ । समन्वय नगरी सोझै बाहिरका सङ्क्रमित आउँदा व्यवस्थापनमा कठिनाइ हुने गरेको लम्साल बताउँछन् । अन्य विभागहरु बन्द गर्दै जाँदा त्यहाँको जनशक्तिलाई कोभिडको उपचारमा प्रयोग गर्नुपर्ने भए पनि अझै त्यसो हुन नसकेको उनको भनाइ छ ।
कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का निमित्त निर्देशक डा मनोहर प्रधान बाहिरी जिल्लाका बिरामीको चाप बढ्दो रहेको बताउँछन् । उनले भने, “बाहिरी जिल्लाका सङ्क्रमितले श्यया भरिएपछि जिल्लाकालाई कसरी उपचार गर्ने ? समयमै सोच्नुपर्ने अवस्था आएको छ ।” काम गर्ने कर्मचारी र जिल्लाका सङ्क्रमितलाई श्यया छुट्याउन सकेपछि समस्या कम हुने उनको सुझाव छ ।
अस्पतालमा समन्वय नै नगरी सोझै सङ्क्रमित आउने र व्यवस्थापन गर्न कठिन हुने गरेको गुनासो उनले गरे । उनले भने, “शुक्रबार मात्रै साँझ बाहिरबाट एकजना सङ्क्रमित आए, व्यवस्थापन गर्न चार घण्टा लाग्यो ।” उनले थपे, “बाहिरका मानिसहरुलाई भरतपुर गएपछि त उपचार भइहाल्छ नि भन्ने छ, तर यहाँ सहज छैन ।” सङ्क्रमित सोझै आउने र तुरुन्त भर्ना गर्न चौतर्फी दबाब हुने गरेको प्रधानले जानकारी दिए ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी जिल्लाको भन्दा बाहिरी जिल्लाको टेलिफोनको जवाफ दिन कठिन भएको बताउँछन् । देशभरबाट सङ्क्रमित पठाउन फोन आउने गरेको उनको भनाइ छ । उनले भने, “बाहिरी जिल्लाबाट मलाई आएको टेलिफोन उठाउन पनि सम्भव भएको छैन ।” सकेसम्म स्थानीयस्तरमा सङ्क्रमितको व्यवस्थापन गर्न आफूले अनुरोध गर्दै आएको उनको भनाइ छ ।
जिल्लास्थित प्राविधिक समितिका संयोजकसमेत रहनुभएका डा अधिकारी जिल्लामा तत्काल ७५ वटा भेन्टिलेटर, १५० श्यया सघन उपचार कक्ष, ३०० श्ययाको एचडियू र ६०० श्यया साधारण श्यया आवश्यक रहेको बताउँछन् । जिल्लाका अस्पतालले यहाँका मात्रै नभएर बाहिरी धेरै जिल्लालाई थेग्नु पर्ने भएकाले पूर्णरुपमा तयारी गर्नुपर्ने उनको भनाइ छ ।
आफूले जिल्ला एउटा कल सेन्टर बनाएर कुन अस्पतालमा श्यया खाली छ भन्ने बारेमा जानकारी दिने व्यवस्था गर्नुपर्ने सुझाव अघि सारेको उनले बताए । त्यसैगरी, सङ्क्रमण देखिएका बिरामीको रिपोर्ट पठाउँदा उसले सम्पर्क गर्ने एकजना चिकित्सकको नम्बरसमेत पठाउनका लागि तयारी थालिएको बताए । बिरामीको शरीरमा अक्सिजनको मात्रा राम्रो भए पनि फोक्सोमा भने धेरै असर देखिने गरेको भन्दै उनले अन्य समस्या भएमा तत्काल चिकित्सकको सम्पर्कमा आउन पनि सुझाव दिए ।
देशैभरिबाट क्यान्सर उपचारका लागि आउने विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले समेत छुट्टै कोभिड वार्ड तयार गर्दैछ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार तत्काल १५ श्ययाको कोभिड उपचारका लागि श्यया तयार गरिँदै छ । क्यान्सर उपचार गर्न आउने बिरामीमा सङ्क्रमण देखिएमा राख्ने गरी अस्पततालले व्यवस्थाा गर्न लागेको हो । गौतमका अनुसार सोही ठाउँमा बिरामीको चाप बढेमा पाँच श्यया थप गर्न सकिने छ । यहाँ नेपालका सबैजसो ठाउँका साथै भारतीय सीमा क्षेत्रबाट समेत बिरामी आउने गर्दछन् । बाहिरका बढी बिरामी आउने भएकाले जोखिम उच्च रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी समन्वयविना नै बिरामी नपठाउन छिमेकी जिल्लाहरुलाई अनुरोध गरिएको बताउँछन्। बिरामीको चाप बढ्दै गएकाले यहाँका अस्पतालहरुले श्यया बढाउँदै लैजानुपर्ने उनको भनाइ छ । जिल्लामा दैनिक दैनिक १५० हाराहारी सङ्क्रमित थपिँदै गएको भन्दै उनले यी सङ्क्रमित र बाहिरबाट आउने दुवैको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी यहाँका अस्पतालहरुलाई रहेको छ ।
बाहिरी जिल्लाका बिरामी बढेपछि जिल्लाले ती जिल्लाहरुमा समन्वय विना बिरामी नपठाउन अनुरोध गर्दै आएको छ । प्रजिअ प्रेमलाल लामिछानेका अनुसार आइतबार यहाँका अस्पतालहरुमा भर्ना भएका १७२ जना सङ्क्रमितमध्ये ७५ जना मात्रै चितवनका हुन् । अन्य सबै बाहिरी जिल्लाका भएको उनको भनाइ छ । यस विषयमा आफूले केन्द्रमा पनि जानकारी गराएको उनले बताए ।
