यातायातको काम चितवन जिल्लाबाटै
यातायात कार्यालयको सीमित काम मात्रै गर्दै आएको याातायात सेवा कार्यालय भरतपुरले लाइसेन्सबाहेकका सबै काम गर्न पाउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशले सेवा कार्यालयलाई यातायात व्यवस्था कार्यालयसरह अधिकार दिने निर्णय गरेसँगै अधिकार थप भएको हो ।
सेवा कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार हालसम्म बिलबुक नवीकरण, पटके जाँचपास र रुट परमिट नवीकरण मात्रै हुँदै आएको छ । प्रदेश सरकारको निर्णयसँगै नयाँ सवारी दर्ता, नामसारी र बिलबुकको प्रतिलिपिसमेत यहाँबाट लिन पाइने छ ।
सबै तयारी पूरा गरेर एक महिनाभित्रमा सेवा सञ्चालनमा ल्याइने उनले जानकारी दिए । भन्सार कार्यालय, सवारी बिक्री गर्ने कम्पनीलगायतलाई जानकारी गराएर आवश्यक प्रक्रिया पूरा गरी सेवा विस्तार गरिने उनको भनाइ छ ।
वाग्मती प्रदेश सरकारको यही वैशाख ८ गतेको मन्त्रिस्तरीय निर्णयबाट आज आइतबारदेखि सेवा सञ्चालन गर्ने गरी परिपत्र आएको भए पनि तयारी पूरा हुन नसकेको उनको भनाइ छ । सेवाका लागि कोड नं प्राप्त भएको र कार्यालयमा उपलब्ध जनशक्तिलाई नै उच्चतम प्रयोग गरी सेवा प्रवाहको व्यवस्था मिलाउन पत्रमार्फत निर्देशन आएको उनले बताए । यसअघि ती सेवाका लागि हेटौँडा र वीरगञ्ज धाउनुपर्ने बाध्यतासँगै यहाँका यातायात व्यवसायीले जिल्लामा सबै काम हुने गरी कार्यालय स्थापना गर्न पहल गर्दै आएका थिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहेका स्थानीयवासी रामप्रसाद सुवेदीले लाइसेन्सको काम संरचना निर्माण भएपछि सञ्चालन गर्ने गरी प्रदेश सरकारबाट अधिकारसहितको पत्र प्राप्त गर्न सफल भएको बताए।