चितवनमा कोरोना : पछिल्लो २४ घण्टामा २२५ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा चितवनमा १५६ जनामा कोरोना संक्रमण देखिएको छ। भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा आइतबार नमुना संकलन गरी परीक्षण गर्दा चितवनका १५६ जनासहित थप २२५ जनामा संक्रमण पुष्टि भएको हो। भरतपुर अस्पतालमा संकलन भएका २१५ वटा नमुनामध्ये ८४ जना, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा संकलन भएका १६० वटा नमुनामध्ये ३२ जना र चितवन मेडिकल कलेजमा संकलन भएका १७७ वटा नमुनामध्ये १०९ जना गरी १५६ जना नयाँ संक्रमित थपिएका हुन्।
भरतपुर अस्पतालमा परीक्षण गर्दा संक्रमण देखिएकामध्ये ६६ जना चितवनका छन् भने १८ जना चितवन बाहिरका छन्। यस्तै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा परीक्षण गर्दा देखिएका संक्रमितमध्ये १३ जना चितवनका र बाँकी १९ जना चितवन बाहिरका छन् भने चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा संक्रमण देखिएकामध्ये ७७ जना चितवनका र बाँकी ३२ जना चितवन बाहिरका छन्। चितवनमा गरिएका पछिल्लो परीक्षणमध्ये १५६ जना चितवनका र बाँकी ६९ जना चितवन बाहिरका छन्।
चितवनमा थपिएका १५६ जनामध्ये पनि कालिका नगरपालिकाका दुईजना, रत्ननगर नगरपालिकाका सात जना, खैरहनी नगरपालिकाका छजना, माडी नगरपालिकाका एक जना छन् भने बाँकी १४० जना भरतपुर महानगरपालिकाभित्रका छन्। चितवन बाहिरका भने नवलपुर, काठमाडौँ, मकवानपुर, नवलपरासी, गोरखा, रुपन्देही, बारा, गुल्मी, रौतहट, स्याङजा, धादिङ, सुर्खेत, सर्लाही, धनुषा, दाङ, बाँके, बाजुरा, कपिलवस्तु, कालिकोट, कञ्चनपुर, मोरङ, सुनसरी, कास्की र लमजुङका छन्।