चितवनमा चौंथो दिनको निषेधाज्ञा खुकुलो (फोटो फिचर)
भरतपुर । चितवनमा आज निषेधाज्ञाको चौंथो दिन सवारी साधनको चहलपहल केहि बढेको छ । नवलपुरबाट चितवन प्रवेश गर्ने नारायणीको पुलमा आज दिउँसो सुरक्षाकर्मीहरु देखिएनन् । यसअघि सुरक्षाकर्मीहरुले सवारी साधनलाई चेक गरेर अनावश्यक रुपमा हिँडेको पाइए फिर्ता पठाउने गरेका थिए ।
त्यस्तै, बैंकहरुमा पनि सेवाग्राहीको संख्या विस्तारै बढ्दै छ । बैंकहरुमा सेवाग्राहीहरु सेवा लिनका लागि लाइन लागेको देख्न सकिन्छ । मेडिकल, तरकारी तथा फलफुल र खाद्यान्न बाहेकका पसलहरु भने बन्द नै रहेका छन् ।
इन्टरनेट लगायत अत्यावश्यक सामग्री बोकेका मालबहाक सवारी साधन र एम्बुलेन्सहरु पनि सञ्चालनमा छन् । दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले बैशाख १६ गते राती १२ बजेदेखि बैशाख ३१ राती १२ बजेसम्मको लागि जिल्लामा निषेधाज्ञा लगाएको हो ।
हिजो (आइतबार) निषेधाज्ञा उल्लघंन गर्ने ६२७ सवारी साधन र एक हजार ९९० जना पैदल यात्रीलाई कारबाही गरिएको थियो । संक्रामक रोग ऐन २०२० अनुसार उनीहरुबाट एक लाख ७ हजार २१० रुपैयाँ जरिवाना असुल गरिएको चितवन प्रहरी प्रवक्ता सरोज गिरीले बताए ।