चितवन निकुञ्जको हात्ती प्रजनन् केन्द्रमा नारायणीकलीले जन्मायो छावा





चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा रहेको नारायणीकली नामको हात्तीले छावा जन्माएको छ। सुत्केरी हात्ती र भाले छावा स्वस्थ रहेको निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार सुत्केरी र छावाको स्याहारका लागि ३ जना हात्तीसारे कर्मचारी खटाइएको छ।


निकुञ्जको बगाई माडी सेक्टर कार्यालय माडीमा खटिएको बेला गर्भवती भएपछि नारायणीकलीलाई कामकाज फिर्ता गरि  खोरसोरस्थित प्रजनन् केन्द्रमा राखेर स्याहार सुसार गरिँदै आएको थियो। नवजात छावाको हिन्दू परम्पराअनुसार पूजा गरी नाम राख्ने गरिन्छ।

नारायणीकलीले यसअघि माडी गज र लक्की गज नामका दुई हात्तीलाई जन्माएको थियो। ती दुवै हात्ती यस वर्षको गैंडा गणनामासमेत सहभागी थिए।

खोरसोरमा  यो नवजात छावासँगै १० वटा छावा पुगेका छन्। चितवन निकुञ्जमा ५१ वटा चितवनका र ६ वटा कोशी टप्पु बन्यजन्तु आरक्षबाट कामकाजमा खटिएका गरी जम्मा ५७  वटा हात्ती छन्।




सम्बन्धित
Loading...