प्रहरीबाट आफूहरूमाथि हातपात भएको धर्नामा बसेका लुम्बिनीका महिला सांसदको आरोप




लुम्बिनी प्रदेशका महिला सांसदले आफूहरूमाथि सुरक्षाकर्मीले हातपात र दमन गरेको आरोप लगाएका छन्।

आइतबार मुख्यमन्त्रीको सपथ रोक्न भन्दै प्रदेश प्रमुखको कार्यालयमा भेला भएको बेला आफूहरूलाई प्रदेश प्रहरी प्रमुख डिआइजी रवीन्द्र धानुकले हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लगाए।




सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले डिआइजी धानुकको नेतृत्वमा आफूसहित सांसदहरू फूलमति ढेंगा, लौटी थारु, सुष्मा यादव, पुष्पा थरुनी, गीता थापामाथि हातपात भएको बताइन्।

‘प्रदेश प्रमुखको कार्यालयमा आइतबार साँझ अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्नका लागि हामीहरू धर्नामा थियौं, सोही क्रममा प्रहरी प्रमुख धानुकले महिला प्रहरी प्रयोग नगरी आफैं हातपातमा लागे, ’ पत्रकार सम्मेलनमा क्षेत्रीले भनिन्।

क्षेत्रीले  महिला सांसदहरूको संवेदनशील अंगमा हातपात भएको आरोप लगाउँदै हातपात गर्ने प्रहरी प्रमुख धानुकलाई कारबाहीको माग गरेकी छन्।

नेकपा माओवादी केन्द्रका सांसद दामा शर्माले प्रहरी प्रमुखले प्रदेश प्रमुखको कार्यालयमै महिला हिंसा गरेको आरोप लगाउँदै आफूहरूले कानूनी उपचार खोज्ने बताइन्।



सम्बन्धित
Loading...