स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता

71












सरकारले कोरोना भाइरस महामारीमा खटिने स्वास्थ्यकर्मीलगायत जनशक्तिलाई प्रोत्साहन स्वरूप ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने भएको छ। उनीहरूका परिवारका सदस्यको उपचार र बिमाको व्यवस्थासमेत गरिने भएको छ।  

‘स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन संघ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिनेछ’, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधनका क्रममा भने, ‘कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसार प्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ।’


प्रधानमन्त्री ओलीले महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र सफाइकर्मीसहित सबै तह र तप्काका राष्ट्रसेवक कर्मचारीको भूमिका उल्लेखनीय रहेको बताए। प्रधानमन्त्री ओलीले महामारीका कारण कसैले पनि जीवन गुमाउन नपरोस् भने सरकार संवेदनशील रहेको बताए।

‘नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो भन्नेमा म पुनः जोड दिन चाहन्छु’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित छन्।’

ओलीले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक ढंगले काम गर्न प्रदेश केन्द्रित हुने गरी एक÷एक जना मन्त्रीलाई ‘फोकल व्यक्ति’ तोकिएको बताए।  ‘संक्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेसन केन्द्रको व्यवस्था गरेर मात्रै पुग्दैन, एक हदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरूको सल्लाहअनुसार केही अवधिका लागि निषेधाज्ञा जारी गरिएको छ’, ओलीले भने, ‘यसलाई थप कडाइ गरिँदै छ र प्रभावकारी ढंगले लागू गर्न पहिलेझैं सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ।’

उनले चीन, रूसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क पर्याप्त मात्रामा खोप ल्याउन सरकार प्रयत्नशील रहेको बताए। ‘हालसम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइसकिएको छ। दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ। अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन्’, उनले भने, ‘यस संख्यामा स्वास्थ्यकर्मीलगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू छन्।’

उनले कोरोनाको दोस्रो लहर थप घातक रूपमा देखापरेको बताए। ‘संक्रमणको दर र मृत्युदर गत वर्षको तुलनामा बढी छ।’  उनले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको बताए। वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालका रूपमा सञ्चालनको तयारी भइरहेको उनले बताए।

उनले प्रदेश सरकारले पनि मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालका रूपमा सञ्चालन गर्ने बताए। ‘सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रंगशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदाम घरलगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको छ’, उनले भने, ‘सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शय्या र तीमध्ये प्रयोग भएका वा नभएका शय्याको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनुपर्नेछ।’ उनले कुनै अस्पतालले विवरण पूरा नपठाई शय्या लुकाएको भेटिए
कारबाही हुने स्पष्ट पारे।

उनले ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने बताए।  सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरिने जानकारी उनले दिए। उनले लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कारबाहीको चेतावनी दिए। ‘लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिनेछ’, उनले भने, ‘देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको छ।’

उनले कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरिएको बताए। औषधिको कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही गरिने चेतावनी उनले दिए।  उनका अनुसार जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिनेछ। मापदण्डको उल्लंघन गर्नेलाई कानुनबमोजिम दण्डित गरिने उनले बताए। निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहेको उनले स्पष्ट पारे। उनले महामारी नियन्त्रण भएसँगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिने नै बताए।

उनका अनुसार जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्नेछन्। परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्नेछन्। अन्तर मन्त्रालय समन्वयमा काम गरिनेछ।

उनका अनुसार वैशाख २० गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको छ। वैशाख २३ गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको छ। स्थलमार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको छ। नेपाली नागरिक प्रवेशका लागि नेपाल–भारत सीमा नाकामध्ये १३ वटा मात्र सञ्चालनमा ल्याइएको छ। आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत सञ्चालन हुने व्यवस्था मिलाइएको छ।

उनले भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइने बताए। स्थलमार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट आउने हरेक व्यक्तिलाई परीक्षण गरिनेछ। कोही संक्रमित पाइएमा उनीहरूलाई उपचार गरेर मात्र समुदायमा पठाउने व्यवस्था मिलाइएको उनले बताए। प्रत्येक स्थानीय तहले नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारेन्टिन, आइसोलेसन तथा उपचारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइसोलेसनको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको उनले बताए।

उनका अनुसार सरकारी तथा अन्य कार्यालयमा एकचौथाइ कर्मचारीबाट कार्यसम्पादन गराउन सुरु गरिएको छ। अत्यावश्यक बाहेक अन्य कार्यालय, संघ–संस्था वैशाख मसान्तसम्म बन्द रहने उनले बताए। उनले संक्रमण बढ्न नदिन सहरका महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित गरेर आफ्नो दायित्व हर हालतमा पूरा गर्ने प्रतिबद्धता जनाउँदै नागरिकको पनि उत्तिकै भूमिका हुने बताए। ‘सकभर घरमै बसौं, घरबाहिर निस्कनुपरेमा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाऔं’, उनले भने, ‘समय–समयमा साबुनपानीले हात धोऔं वा स्यानिटाइजरले हात सफा गर्ने गरौं।’

उनले  भोजभतेर तथा पर्व घरमै मनाउन आग्रह गर्दै भने, ‘भौतिक दूरी कायम गरौं, भीडभाडबाट टाढै रहौं। हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔं। चिकित्सक, विज्ञ तथा प्राविधिकहरूको सल्लाहलाई पालना गरौं। धैर्य गरौं, संयमता अपनाऔं। सावधान होऔं तर आतंकित नहोऔं।’

उनले गत वर्ष गरिएको बन्दाबन्दी र जारी गरिएको निषेधाज्ञाका समयमा अनुशासन पालना गर्दै  महामारीको असर धेरै हदसम्म कम गरेको स्मरण गराए। भने, ‘यसमा भएको हेलचक्र्याइँले क्रमशः महामारी फैलिन बल पुर्या‍एको तथ्यलाई हामी सबैले मनन गरौं। नभुलौं, महामारीले कसैलाई पनि छाड्दैन।’ उनले गत वर्षको महामारी नियन्त्रणमा सफल भएको दाबी गरे। ‘हामीले जीवन पहिला भन्यौं र त्यहीअनुरूप योजनाहरू बनायौं’, उनले भने, ‘एक वर्षपछि समीक्षा गर्दा हाम्रो निर्णय सही थियो भन्नेमा अहिले द्विविधा रहेन।’



You might also like
Loading...