मोरङमा चार घण्टाभित्र पाँच संक्रमितको मृत्यु
मोरङमा पछिल्लो चार घण्टाभित्र कोरोना भाइरस संक्रमित दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ। चार जनाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पताल र एक जनाको होम आइसोलेसनमा मोरङको बेलबारीमा मंगलबार बिहान मृत्यु भएको हो। मृतकमध्ये एक जना प्रदेश २ र चार जना प्रदेश १ का बासिन्दा हुन्। 
मोरङको बेलबारी नगरपालिका–२ घर भएका ६६ वर्षीय पुरुषको बिहान ४ बजेतिर मृत्यु भएको छ। नोबेल अस्पतालमा वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई होम आइसोलेसनमा लगेर राखिएको थियो।
श्वासप्रश्वासमा समस्या आएर अवस्था गम्भीर बन्दै गए पनि उपचारका लागि अस्पताल लैजान नपाउँदै कोरोना संक्रमित उनको ज्यान गएको प्रहरीले जनाएको छ। मृतक पुरुष भूतपूर्व प्रहरी सहायक निरीक्षक (असइ ) हुन्।
त्यस्तै विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्ध पुरुषको बिहान २ बजेतिर मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई सोमबार नोबेल अस्पताल भर्ना गरिएको थियो। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अवस्था गम्भीर रहेका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो।
त्यस्तै इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको पनि नोबेलमै मृत्यु भएको छ। परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि गत वैशाख १३ गते अस्पताल भर्ना गरिएको दाहालले बताए। उनकाअनुसार महिलाको उपचारकै क्रममा बिहान ४:१५ बजेतिर मृत्यु भएको हो। मृतकमा निमोनियाको पुरानै समस्या रहेको जानकारी दाहालले दिए।
सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ। कोरोना संक्रमित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो। प्रबन्धक दाहालले उपचार जारी रहेकै बेला बिहान ५ बजेतिर संक्रमित वृद्धाको मृत्यु भएको बताए। उनकाअनुसार मृतकमा दमको पुरानो समस्या थियो।
त्यस्तै प्रदेश २ को सप्तरी हनुमाननगर–कंकालीनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ५:४५ बजेतिर मृत्यु भएको छ। उनको नोबेलमै उपचार भइरहेको थियो। कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भना गरिएको दाहालले बताए। उनले मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए।