कोभिड व्यवस्थापनमा नगरपालिकाको भूमिका प्रभावकारी नभएको भन्दै तालाबन्दी र सरकारी गाडी प्रयोगमा रोक

234












नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले कोभिड १९ व्यवस्थापनमा राम्रो भूमिका नखेलेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।


देवचुली नगरपालिकाका स्थानीय बासिन्दा र राजनीतिक दलका अगुवाहरुले नगरप्रमुख पूर्ण कुमार श्रेष्ठ र उपप्रमुख पार्वता तिवारीको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् भने उनीहरुले चढ्दै आएको सरकारी गाडी समेत चापी खोसेर राखिदिएका छन् ।

सोमबार देवचुली १३ का ६८ बर्षीय पुरुषको कोरोना संक्रमितलाई अस्पतालमा लैजानका लागि एम्बुलेन्स व्यवस्थापनमा ढिलाई भए पछि स्थानीय आक्रोशित भएका हुन् । एम्बुलेन्स र अन्य साधन नपाए पछि संक्रमितलाई स्थानीयले ट्याक्टरमा राखेर लगेका थिए ।

ट्याक्टरमा लैजादा ढिलो भए पछि उनको बाटोमा नै निधन भएको थियो ।

नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत ३ जनाकै कार्यकक्षमा तालाबन्दी गरिए पनि स्वास्थ्य सेवामा प्रभाव पर्न सक्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलको कार्यकक्षको ताला खोलिएको स्थानीय अगुवा श्याम शर्मा भुसालले बताए ।

उनीहरुले कोभिड १९ को व्यवस्थापनमा स्थानीय सरकारको भूमिका प्रभावकारी बनाउनु पर्ने, विरामी बोक्नका लागि एम्बुलेन्स २४ सैं घण्टा तयारी अवस्थामा राख्नु पर्ने, एम्बुलेन्स व्यवस्थापन नभए नगरपालिकाको सरकारी गाडीमा भए पनि संक्रमितलाई बोक्नु पर्ने लगायतका मागहरु राखेका छन् ।



You might also like
Loading...