देवचुली घटना: अस्पताल लगिदेउ भन्दा भन्दै विरामीले ज्यान गुमाए
रामकुमार श्रेष्ठ –
नवलपरासी, २१ बैशाख ।
लगातारको ज्वरो आए पछि ५ दिन अघि अर्थात बैशाख १५ गते चितवनको पुरानो मेडिकल कलेजमा उपचार गर्न गएको पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ निवासी ६८ बर्षीय पुरुष सामान्य उपचार पश्चात पिसिआर परीक्षणका लागि स्वाब दिएर घर फर्किए ।
घर फर्किएको दुई दिन पछि कोभिड १९ पोजेटिभ रहेको रिपोर्ट मोबाइलको म्यासेजमा आयो । लगतै उनका परिवारले सम्बन्धित वडा अर्थात देवचुली १३ का वडाअध्यक्ष नगरप्रवक्ता क्या. दिलबहादुर खत्रीलाई खबर गरे । वडा अध्यक्षले अघिल्लो पटक झै स्वास्थ्यलाई स्वतः जानकारी हुन्छ भनेर वास्ता गरेनन् ।
विस्तारै विरामीलाई संक्रमणले च्याप्दै गयो । बैशाख २० गते अर्थात विहानसम्म आफै खाना खाएको उनलाई दिउँसो एक्कासी स्वासप्रश्वासमा समस्या देखियो । उनका छोरा शंकर काफ्लेले अस्पतालसम्म लैजान हारगुहार मागे तर कोही तयार भएनन् ।
५ बेडको अक्सिजन सहितको आइसोलेशन बेड रहेको प्रस्तावित देवचुली नगर अस्पताल अर्थात दुम्कौली प्राथमिक स्वास्थ्य चौकी उनको घरबाट करिब डेढ किलोमिटर पर थियो । शंकर काफ्ले भन्छन् – बुवा पीडामा छट्पटाइरहनु भएको थियो । मलाई अस्पताल लैदिनु भन्दै हुनुहुन्थयो तर लैजान कोही तयार भएनन् ।
देवचुली नगरपालिका भित्र १० वटा एम्बुलेन्स छ । विरामीको अवस्था गम्भीर हुँदै गएको थाहा पाए पछि वडा अध्यक्ष आए, नगरपालिकाका स्वास्थ्यकर्मी सिनियर अहेव शिव पराजुली, पिताम्बर भुर्तेल पनि आए । गाउँका गन्यमान्न जम्मा भए तर संक्रमितलाई डेढ किलोमिटर परको अस्पताल पुर्याउन न त एम्बुलेन्स तयार भए न त छिमेकीले कार, अटो नै दिए । समय वित्दै गयो संक्रमित मृत्युसँग लड्दै थिए ।
विरामीको अवस्था झन झन नाजुक हुँदै गयो । मोटरसाइकलमा लैजान तयार भए पनि संक्रमण फैलने डरले त्यहाँ रहेका गन्यमान्यले मोटरसाइकलमा बोक्न दिएनन् । मृतकका छोरा शंकर काफ्ले भन्छन् – मोटरसाइकल वा ह्वील चियरमा भए पनि लैजान्छौं भने तर कसैले लैजान दिएनन् । अन्नतः ट्याक्टरमा भए पनि हालियो तर अस्पताल पुग्दा अस्पतालले मृत घोषणा गर्यो ।
‘आज हामीलाई यस्तो भयो । भोलि अरुलाई नहोला भन्न सकिन्न ।’ उनले भने – ‘टेक्टरमा विरामीलाई हाल्न कोही पनि तयार भएनन् मैले र मेरी आमा मिलेर टेक्टरमा हाल्यौं । सबै रमिते भएर बसे ।’
काफ्लेका घर अहिले उनकी आमा, श्रीमती र छोरा गरी ४ जनाको परिवार छ । ४ जनानै घरमै छुट्टाछुट्टै आइसोलेसनमा छन् । क्रिया बस्नु पर्ने क्रिया बसेका छन् । क्रिया बस्नु नपर्ने पनि होम आइसोलशेनमा छन् । काफ्लेले भने – बस्न खान त समस्या छैन तर हाम्रो घर कोही आउन दिइएको छैन ।
देवचुली नगरपालिकाका नगरउपप्रमुख पार्वता तिवारीका अनुसार संक्रमितको परिवारले बेलैमा वडा अध्यक्षलाई जानकारी गराइएको रहेछ तर वडा अध्यक्षले पहिला झै स्वास्थ्यलाई सोझै जानकारी हुन्छ भन्ने सोचेर स्वास्थ्यलाई जानकारी नगराउँदा यस्तो भएको हो ।
https://www.facebook.com/permalink.php?story_fbid=2834410410159879&id=2013972642203664
दाहसंस्कार अघि कपाल मुण्डन गर्न दिइएन
६८ बर्षीय पुरुषको मृत्यु भए पछि उनका परिवारको मागमै उनको शव नारायणी नदी किनार लगेर अन्तिम संस्कार गरियो । मृतकका एक मात्र छोरा काफ्लेले आफ्नो बुवाको निधन पछि दाहसंस्कार अघि केश मुण्डन गर्न चाहान्थे तर उनलाई केश मुण्डन गर्न समेत दिइएन् ।
काफ्ले भन्छन् – एक जना आफन्तले हातमा ग्लोब्स लगाएर कपाल फालिदिन तयार भए तर मलामी गएकाहरुले संक्रमण सर्न सक्ने भन्दै कपाल फाल्न दिएनन् । भोलि पल्ट अर्थात मंगलबार घरमा त्यही ग्लोब्सको भरमा कपाल फालियो ।
कहाँ छ सरकार ?
पूर्वी नवलपरासीमा पछिल्लो पटकको कोभिडको संक्रमणबाट ४ जनाको निधन भएको छ । ति मध्ये १ जना जिल्ला बाहिरका हुन् भने ३ जना जिल्ला भित्रका ।
सोमबार निधन भएका काफ्लेका परिवारले आफूले सरकार भएको अनुभव नगरेको गुनासो गरे ।
मृतकका छोरा शंकर काफ्लेले भने – सरकार अभिभावक हो भन्छन् तर दुःखमा पाइएनन् । स्थानीय जनप्रतिनिधिदेखि स्वास्थ्यकर्मी अगाडि थिए तर कसैले विरामीलाई हातसम्म लगाएनन् । सबै मुकदर्शक बने ।
संक्रमित घरमै छटपटिएर बस्दा अस्पताल लैजान कसैले चासो दिएनन् सबैले एकले अर्काको मुख ताकेर बसे तर आज (मंगलबार) नगरपालिकामा आक्रोसित स्थानीयले ताला लगाउँदा प्रहरी तुरुन्तै गएर ताला खोलिदियो । पलभरमा ताला खोल्न पुग्ने सुरक्षाकर्मी त्यतिबेला किन आइपुगेनन् जति बेला मेरो बुवा मृत्युसँग लडिरहेको हुनुहुन्थ्यो ।
मैले हात लगाउन सकिन वडा अध्यक्ष
देवचुली १३ का ६८ बर्षीय पुरुष मृत्यु शैयामा छटपट्टि रहँदा देवचुली नगरपालिकाका नगरप्रवक्ता तथा देवचुली १३ का वडाध्यक्ष क्या. डिलबहादुर खत्री पनि उनकै घर पुगेका थिए ।
उनले विरामीलई श्वास फेर्न गाह्रो भएको थाहा पाउना साथ विरामीलाई अस्पताल लैजान एम्बुलेन्सलाई फोन गरे तर कुनै एम्बुलेन्स बेलैमा आइपुगेनन् ।
वडा अध्यक्ष खत्री भन्छन् – कोही कहाँ छु कोही कहाँ छु भनेर जिल्ला बाहिर भएको जानकारी गराए एउटा एम्बुलेन्स आएको थियो । उसले भने आफ्नोमा संक्रमित बोक्न मिल्ने क्याविन छैन भनेर बीचबाटोबाटै फर्किए ।
निक्कै कष्टकर थियो त्यो समय – उनी भन्छन् – मपनि त्यही थिए तर विरामीलाई ट्याक्टरमा हाल्दा मैले विरामीलाई छुने उचाल्ने, ट्याक्टरमा हाल्न सघाउने आँट गर्न सकिन ।
वडाध्यक्ष खत्रीको पनि आफ्नै निजी कार छ तथापि उनले पनि विरामी बोक्नका लागि आफ्नो कार प्रयोग गर्न दिएनन् ।
स्वास्थ्यकर्मीको प्रतिक्रिया
देवचुलीका उक्त संक्रमितको बारेमा उनका परिवारले वडा अध्यक्षलाई बेलैमा जानकारी गराएको बताए पनि स्वास्थ्यकर्मीले भने सोमबार मात्र जानकारी पाएको बताए ।
विरामीलाई अस्पताल लैजान साधन नपाएर छट्पटि रहेका बेला घटना स्थलमा रहेका दुई स्वास्थ्यकर्मीले आफूहरुले पिपिआई नलगाई गएका कारण कुनै सहयोग गर्न नसकेको बताए ।
घटना स्थलमा रहेको सिनियर अहेव शिव पराजुलीले नयाँ पत्रिकासँग भने – मैले आधा बोतल पानी पनि उठाउन सक्दिन अनि तेत्रो मान्छे कहाँ उठाउन सक्छु । त्यही माथि हामीले संक्रमित भएको थाहा पाएर खोज्दै गएका थियौं गम्भीर भन्ने थाहा पाएको भए पिपिआई लगाएर जाने थियौं ।
उनले भने – संक्रमित कोभिडका कारण भन्दा पनि मुटुको समस्याका कारण निधन भएको हुनु पर्छ । उनको अवस्था विहानसम्म ठिक रैछ । दिउँसो एक्कासी गम्भीर बने । उनको मुटुको कारण अर्थात हर्टअट्याक्क कारण तत्काल ज्यान गएको हुन सक्छ ।
उनका अनुसार विरामीको ट्याक्टरका हाल्नु अघि नै निधन भएको थियो तर परिवारले अस्पताल लैजाने भने पछि ट्याक्टरमा भए पनि हालेर लगिएको हो ।
मंगलबार दिनभर देवचुली तनावग्रस्त
सोमबार देवचुलीका एक जना संक्रमितले डेढ किलो मिटर पर रहेको अस्पतालसम्म जाँन एम्बुलेन्स वा अन्य सवारी साधन नपाए पछि उनले उपचार नपाई ज्यान गुमाउनु पर्यो ।
नगरपालिकाले कोभिड १९ को बेवस्थापनमा चरम लापरवाही गरेको, नगरपालिका गम्भीर नभएको भन्दै दिनभर नगरपालिका तनाबग्रस्त बन्यो ।
स्थानीय बासिन्दा तथा राजनीतिक अगुवाहरुले देवचुली नगरपालिकाको नगरप्रमुख, उपप्रमुखको कार्यकक्षमा ताला लगाइदिनेदेखि नगरप्रमुख उपप्रमुखले प्रयोग गरेको सरकारी साधन प्रयोग गर्न समेत रोक लगाएर नियन्त्रणमा लिए ।
देवचुली नगरपालिका दिनभर तनावग्रस्त हुनुका साथै सोमबारको घटनाले आलोचित हुनु परेपछि नगरपालिका भित्र रहेका १० वटै एम्बुलेन्स चालकलाई बोलाएर आइ ऐलर्ट अवस्थामा राखेको नगरपालिकाले जनाएको छ ।
नगरउपप्रमुख पार्वता तिवारीले भने – कम्तिमा एउटा एम्बुलेन्स संक्रमितलाई बोक्न नगरपालिका भित्रै रहने गरी तय गरिएको छ भने अन्य प्रकारका गम्भीर विरामीलाई बोल्न एउटा ।
चरमलापरवार्ही स्वास्थ्य प्रमुख
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले सोमबारको घटना दुखद र गम्भीर भएको बताएका छन् ।
उनले भने – यो स्वास्थ्यमाथिको गम्भीर लापरवाही हो । त्यस्तो घटना नहुनु पर्ने थियो भयो तर अब सबै गम्भीर भएर लाग्नु पर्छ । यो सबैलाई पर्ने घटना हो ।
(((((((((((((((
नवलपुरमा सक्रिय संक्रमित ४ सय नाघ्यो, आजरातिबाट निशेधाज्ञा
नवलपुर । पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या ४ सय नाघेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार मंगलबार साँझ पाँच बजेसम्म नवलपुरमा सक्रिय संक्रमितको संख्या ४ सय १४ पुगेको छ ।
मंगलबार मात्रै नवलपुरमा ७९ जना संक्रमित थपिएका छन् । मंगलबार गैडाकोटमा १५, देवचुलीमा १२, कावासोतीमा ३१, मध्यविन्दुमा ४ जना नयाँ संक्रमित भेटिएका छन् ।
त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा १४, हुप्सेकोटमा १ जना र बौदीकालीमा १ जना थपिएका छन् ।
नवलपुरमा कोभिड १९ को नयाँ संक्रमितहरु अप्रत्यासित रुपमा बढ्न थाले पछि आज राति अर्थात बैशाख २१ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ ।
((((((((((((((((((((((