विश्वासको मतमा प्रधानमन्त्रीलाई फेल गराउने कांग्रेसको निर्णय
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र फेल गराउने निर्णय गरेको छ।
आज बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरिसकेको अबस्थामा त्यसलाई फेल गराउने निर्णय गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकबारे जानकारी गराउँदै कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले भने, ‘विश्वासको मतका लागि भनेर संसद बोलाउने जुन काम भएको छ । ओलीजीलाई विश्वाको मतमा फेल गराउने निर्णय भएको छ ।’
प्रधानमन्त्रीले विश्वासको मत नपाइसकेको अबस्थामा वैकल्पिक सरकार गठनका लागि समेत पहल गर्ने निर्णय गरेको उनले बताए ।
उनले कांग्रेसले यसअघि नै नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरिसकेको अबस्थामा संसदमा विश्वासको मत फेल भइसकेपछि वैकल्पिक सरकारका बारेमा छलफल शुरु गर्ने बताए । उनले भने, ‘विश्वासको मतमा फेल भएको अबस्था विकल्पको सरकारका लागि के गर्ने भन्ने विषयमा हामीले छलफल शुरु गर्छौ ।’
कांग्रेसले सरकारले दोस्रोपटक अध्यादेश जारी गर्ने निर्णयको समेत विरोध गरेको छ । सहमहामन्त्री महतले भने, ‘अहिले अध्यादशेका मार्फतबाट संवैधानिक आयोगहरुमा नियुक्त गर्ने कामको भर्त्सना गरेका छौँ । संसदलाई पटकपटक छल्ने कुरा पार्टीले भर्त्सना गरेको छ ।’
कांग्रेसले कोरोना महामारीले भयावह रुप लिन लागिरहेको अबस्थामा नागरिकले उपचार नपाउने, अक्सिसनको कमी, आइसीयु कमी लगाएतका तमाम विषयमा पार्टीले आफ्नो तहबाट पनि काम गर्ने र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उनले जानकारी दिए । उनले भने,‘ कोभिडको सन्दर्भमा कुरोले मात्रै होइन, सरकारले कामले गरोस भनेर ध्यानाकर्षण गराउने निर्णय भयो ।’
आजको बैठकमा कांग्रेसको आगामी महाविधेशनका बारेमा समेत छलफल भएको उनले जानकारी दिए । पार्टीको महाविधेशन कोभिडको संक्रमण फैलिएको र निषेधाज्ञाको अबस्था रहेपनि समयमै सम्पन्न गर्नका लागि जिम्मेवारी पाएको निकायलाई काम जारी राख्न निर्देशन दिने र समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सहमहामन्त्री डाक्टर महतले जानकारी दिए ।