नवलपुरमा २४ घण्टामा ३ जना संक्रमितको निधन
नवलपरासी, २४ बैशाख । पूर्वी नवलपरासीमा २४ घण्टामा ३ जना संक्रमितको निधन भएको छ ।
कावासोतीका २ जना र मध्यविन्दुका १ जना गरी ३ जनाको निधन भएको हो । यो सहित नवलपुरमा दोस्रो लहर शुरु भए पछि ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।
शुक्रबार साँझ ४ः१२ बजे कावासोती ८ निवासी ५२ बर्षीय महिलाको कलेज अफ मेडिकल साइन्स चितवनमा निधन भएको हो ।
बैशाख १७ गते मध्यविन्दु जिल्ला अस्पतालमा कोरोना पोजेटिभ देखिएका उनलाई बैशाख २२ गते भरतपुर रिफर गरिएको थियो । उनको शुक्रबार निधन भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
त्यसैगरी कावासोती २ का ६३ बर्षीय पुरुषको चितवन मेडिकल कलेजमा र मध्यविन्दु नगरपालिका १२ का ७० बर्षीय पुरुषको भरतपुर अस्पतालमा गएराति निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।