गैँडा तस्करीमा संलग्न २४ पक्राउ


चितवन राष्ट्रिय निकुञ्जले गैँडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ ।




पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेश गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा धादिङका ४५ वर्षीय राजकुमार श्रेष्ठ भनिने कविराज श्रेष्ठ रहेका छन् । उनलाई यही वैशाख २३ गते चितवनको कविलासबाट पक्राउ गरिएको उहाँले जानकारी दिए । पक्राउ गरिएका उनलाई जिल्ला अदालत पेश गरिएको र अदालतले रु दुई लाख ५० हजार धरौटीमा छाडेको उनले बताए ।




यसअघि विभिन्न समयमा पक्राउ गरिएका २३ जनालाई निकुञ्जले गत माघ २९ गते सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएकामध्ये २० जनालाई चालु आर्थिक वर्षमा चार गैँडा मारेको अभियोग लागेको छ । यही वैशाख २३ गते पक्राउ परेका श्रेष्ठलाई पनि सोही अभियोग लागेको हो । अन्य तीनजना अघिल्ला आर्थिक वर्षका मुद्दामा फरार रहेका अभियुक्त रहेको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा मारिएका गैँडाका मुद्दामा संलग्न २१ जनामध्ये अदालतले सात जनालाई धरौटी माग गरेको थियो भने अन्यलाई पुर्पक्षका लागि अदालत पठाइएको थियो ।

पुराना मुद्दामा फरार रहेका तीन जनालाई पनि फैसला कार्यान्वयनका लागि अदालतबाट कारागार पठाइएको उनले बताए । निकुञ्जमा चालु आवमा प्राकृतिक कारणले २६ र चोरी शिकारीले चार गैँडा मारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

 




सम्बन्धित
Loading...