पश्चिम नवलपरासीमा एकैदिन थप ७ कोरोना संक्रमितको मृत्यु, ९० संक्रमित थपिए
बैशाख २९ । पश्चिम नवलपरासीमा दैनिक कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्दै गएको छ । बुधबार थप ७ जना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सुनवल नगरपालिकाका ४, रामग्राम नगरपालिकाका २ जना र बर्दघाट नगरपालिकामा एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देवीलाल पौडेलले जानकारी दिनुभयो ।
पृथ्वी चन्द्र अस्पताल परासीमा मात्रै दुई जना संक्रमितको ज्यान गएको छ । रामग्राम–१० का ४० वर्षीय पुरुष र वडा नम्बर १८ का ७० वर्षीय वृद्धको पृथ्वी चन्द्र जिल्ला अस्पतालमा मृत्यु भएको छ । यस्तै सुनवल नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय महिला र ८४ वर्षीय बृद्धको होमआईसोलेशनमा मृत्यु भएको छ । सुनवल नगरपालिका वडा नम्बर ८ का ६३ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै बर्दघाट नगरपालिकाकी ४४ वर्षीय महिलाको बुटवल स्थीत कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । संक्रमित सबैमा स्वासप्रस्वासको समस्या रहेको कोरोना फोकल पर्सन पौडेलले बताउनुभयो । बुधबार ७ जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संङ्ख्या ८३ पुगेको छ ।
यस्तै पश्चिम नवलपरासीमा बुधबार थप ९० जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये ४९ जना पुरुष र ४१ जना महिला छन् । यस्तै पसिआर परिक्षणबाट ३९ र एन्टिजिन परिक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बुधबार सुनवल नगरपालिकामा ३१ जना, बर्दघाट नगरपालिकामा ३०, रामग्राम नगरपालिकामा १४ जना, प्रतापपुर गाउँपालिकामा ८ जना, सरावल गाउँपालिकामा ५ जना र सुस्ता गाउँपालिकामा २ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
बुधबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या २७ सय ९३ पुगेको छ । अब जिल्लामा १२ सय २२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । बुधबार जिल्लाका २४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
