नवलपुरमा सक्रिय संक्रमितको संख्या १ हजार नाघ्यो, निषेधाज्ञाले पनि घटेन संक्रमण फैलिने दर
नवलपुर । पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । बुधबार थपिएका १ सय ३ जना नयाँ संक्रमितसँगै पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या १ हजार २४ पुगेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
बुधबार गैडाकोटमा ४९, देवचुलीमा ४, कावासोतीमा २२, मध्यविन्दुमा १७, विनयी त्रिवेणीमा ९, हुप्सेकोटमा १ र बुलिङटारमा १ जना थपिएका हुन् ।
कोरोनाको दोस्रो लहर शुरु भए यता नवलपुरमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । बुधबार मात्रै थप एक जनाको ज्यान गएको थियो । नवलपुरमा अहिलेसम्म कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।
कोरोनाको दोस्रो लहर शुरु भए यता नवलपुरमा १२ सय ५७ जना संक्रमित भएका छन् ति मध्ये २ सय १६ जना निको भएका छन् ।
सक्रिय संक्रमित मध्ये ३५ जना अस्पतालमा उपचाररत रहेका छन् भने ९ सय ८९ जना होम आइसोलशेनमा रहेका छन् ।