राष्ट्रपतिले दिएको समय आज सकिँदै, बन्ला त विपक्षी गठबन्धन ?





काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार (आज) सकिँदै छ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि २७ गते राति नौ बजे राष्ट्रपति भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनको लागि तीन दिनको समय दिएकी थिइन्।




विपक्षी दलबीच सहमति हुन नसक्दा अहिलेसम्म नयाँ सरकार गठनका लागि कसैले विकल्प प्रस्तुत गर्न सकेका छैनन्।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्र नयाँ सरकार गठनका लागि जुटे पनि जनता समाजवादी पार्टीमा अन्तरिक विवाद हुँदा सहमति बन्न सकेको छैन।

संविधानको धारा ७६(२)ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको समर्थनमा संयुक्त सरकार गठन गर्ने व्यवस्था छ। उक्त व्यवस्था अनुसार कांग्रेस, माओवादी र जसपासहितको दलको समर्थनमा नयाँ सरकारको दाबी गर्ने सम्भावना भने कायमै रहेको छ। आज बेलुकासम्म कुनै सहमति हनु नसकेमा प्रधानमन्त्रीमा ठूलो दलको नेताको हैसियतले पुनः ओली नै आउनेछन्।

बुधबारसम्म जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोसहित नेता संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनको विपक्षमा देखिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराईसहितका नेता पक्षमा देखिएका छन्। जसपाभित्र सहमति जुट्न नसक्दा वैकल्पिक सरकार गठन हुने सम्भावना कमजोर बन्दै गएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयासमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल तीव्र पारे पनि जसपाकै एउटा खेमाले साथ दिएको छैन ।

गठबन्धनको सरकार बनाउन चाहिने १३६ संख्या पुग्न कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपा ३२ मध्ये कम्तीमा २६ सांसदको साथ चाहिन्छ । तर जसपाभित्रको विभाजनले एमालेको नेपाल-खनाल पक्षले राजीनामा दिए सरकार बन्ने सम्भावना भने देखिन्छ ।




सम्बन्धित
Loading...