विवाहभोज खाएपछि कोरोना सङ्क्रमण, एकै घरका तीनको मृत्यु


बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् ।




स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ । अधिकांश मानिस डराएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ ।







सम्बन्धित
Loading...