निषेधाज्ञाको अटेरी बढेपछि सिडीओ र एसपी सडकमा





हरि शर्मा –

परासी, १ जेठ । स्थानीयहरुले निषेधाज्ञालाई अटेरी गर्न थालेपछि पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक आफैं सडकमा निस्केर कडाई गर्न थालेका छन् ।




जिल्ला प्रशासनले आजदेखि लागु हुने गरी निषेधाज्ञामा कडाई गरेको छ । निषेधाज्ञालाई पालना गराउन चोक चोकमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । तर पनि स्थानीयहरुले विभिन्न बहाना बनाउँदै अटेरी गरेर हिड्न थालेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र र प्रहरी उपरीक्षक अजयलागयतको सुरक्षा टोली सडकमा निस्केर निगरानी बढाएको हो ।

जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको टोलीले विभिन्न ठाउँमा बसेर अटेरी गर्ने स्थानीयलाई फर्काएका छन् । प्रशासनले जेठ १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थपेको छ ।

जिल्लामा संक्रमणको अवस्था भयावह बन्दै गएपछि यसअघि लगाईको निषेधाज्ञामा कडाई गरिएको हो ।
यसअघि बिहान ३ घण्टा पसल व्यवसायहरु खुला गर्न दिइएको थियो । भने बैंक तथा वित्तिय संस्थाहरुलाई दिन मिलाएर खुला गर्न दिइएको थियो ।
अहिले सबै पसल र बैंक तथा वित्तिय संस्थाहरु समेत पूर्ण रुपमा बन्द गरिएको छ । संक्रमणको दोस्रो लहर सुरु भएको बैशाख महिनामा मात्रै ५६ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १२ सय ४४ पुगेको छ ।

 

 




सम्बन्धित
Loading...