‘कोरोना परीक्षण नगराई कडा औषधि खाँदा घातक’




हरि शर्मा –
परासी, १ जेठ । कडा औषधि सेवनले कोरोना संक्रमितको अवस्था झन जटिल बन्दै लगेको चिकित्सकहरुले बताएका छन् ।

पश्चिम नवलपरासीमा आउने अधिकांश संक्रमित बिरामीहरुले सुरुमा टाईफाइड लगायतका कडा औषधि सेवन गरेको पाइएको चिकित्सकहरुको भनाई छ ।




लक्षण देखिएका बिरामीहरुले सुरुमा कोरोना परीक्षण नगराई मेडिकलहरुबाट औषधि लिने गरेको पाइएको छ ।

टाईफाइड र कोरोनाको लक्षण उस्तै हुने भएकाले मेडिकलहरुले कोरोनाको परीक्षण नगराई औषधि दिदां बिरामीहरुको अवस्था जटिल हुँदै गएको पृथ्वीचन्द्र जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा. राज कुमार गुप्ताले बताए ।

मेडिकलहरुले कडा खाले औषधि र सुई समेत प्रयोग गर्ने भएकाले बिरामीहरु जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल आउने गरेको गुप्ताको भनाई छ । लक्षण देखिएका बिरामीहरुलाई कोरोना परीक्षण गराउन सुझाव नदिई लक्षणका आधारमा सिधैं बिरामीहरुलाई कडा औषधि दिदां समस्या आएको डा. गुप्ताले बताए ।

‘गंभिर अवस्थामा पुगेपछि मात्र बिरामीहरु अस्पताल आउने गरेका छन् । यहाँ आएपछि परीक्षण गर्दा कोरोना देखिने गरेको छ । लक्षण देखिने बित्तिकै परीक्षण गराएको भए सोही अनुसारको औषधि चलाएर निको गराउन सकिन्थ्यो । कडा खाले औषधि पहिल्यै सेवन गरेकाले समस्या आएको छ ।’ डा. गुप्ताले भने ।

लक्षण देखिएमा कोरोना परीक्षण नगराई कडा खाले औषधि नदिन मेकिडलहरुलाई डा. गुप्ताले अनुरोध गरेका छन् । भने औषधि नखान बिरामीहरुलाई उनले सुझाव दिएका छन् ।

औषधि सेवन गरेको ५÷७ दिनपछि मात्र गंभिर अवस्थामा पुगेपछि अस्पताल आउने गर्दा उपचारमा समस्या भई मृत्यु समेत हुने गरेको उनले बताए ।

अस्पतालमा आउने आधा भन्दा बढी बिरामीहरु टाईफाइडको औषधि प्रयोग गरेर आउने रहेको उनले जानकारी दिए ।

त्यस्ता बिरामीलाई आईसोलेसनमा भर्ना गरेपनि धेरैलाई बचाउन नसकिएको गुप्ताले बताए । मेडिकलहरुलाई त्यसबारे सचेत नगराए कोरोनाको अवस्था भयावह हुने र मृत्यु दर पनि बढ्न सक्ने भएकाले त्यसबारे बेलैजमा सजग हुन उनले सुझाव दिए ।



सम्बन्धित
Loading...