अस्पतालमा रकम आएपछि नेताहरुमा जस लिन हानाथाप; जनस्तरबाट आलोचना




हरि शर्मा –
परासी, ४ बैशाख: पश्चिम नवलपरासीको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा सरकारले रकम पठाएपछि जिल्लाका नेताहरु जसलिनेमा हानाथाप गरेका छन् ।

अस्पतालमा एचडीयू र अक्सिजन प्लाण्ट निर्माणका लागि रकम पठाइएको छ । रकम पठाएपछि नेताहरुले उक्त रकम ल्याउन आफूले पहल गरेको भन्दै सामाजिक सञ्जालमा हानाथाप गरेका छन् ।




हानाथाप देखेपछि जनस्तरबाटै जसलिन खोजेको भन्दै आलोचना समेत सुरु भएको छ । नेपाल सरकार अर्थमन्त्रालयको २०७८ बैशाख ४ गतेको पत्रमा १२ जिल्लाका लागि १६ करोड ८० लाख छुट्टाएको उल्लेख छ ।

उक्त रकमबाट ति अस्पतालहरुमा अक्सिजन प्लाण्ट र पाईप लाईन विस्तारका लागि खरिद गर्न सक्ने उल्लेख छ । जसअनुसार पृथ्वीचन्द्र अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण गर्न १५ लाख छुट्टाइएको छ ।

त्यस्तै एचडीयू सञ्चालनका लागि संघीय सरकारबाट १ करोड ९ लाख रुपैयाँ पठाइएको अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले जानकारी दिए ।

रकम आएपछि स्वास्थ्य मन्त्री ह्दयेश त्रिपाठीको संगठन ‘स्वतन्त्र राजनीतिक समूह’का जिल्ला संयोजक राधेरमन पाण्डेले सामाजिक सञ्जालमा जस लिदैं लेखेका छन्– ‘ स्वास्थ्य मन्त्री ज्यूको पहलमा १ करोड २४ लाख रुपैयाँ बिनियोज भएकोमा हार्दिक बधाई । ’

त्यसैगरी लुम्बिनी प्रदेश सदस्य बैजनाथ जयसवालको निजी सचिवालयको फेसबुक पेजमा लेखिएको छ–‘ मा. देबेन्द्रराज कँडेल, प्रदेश सदस्य बैजनाथ जयसवालको विशेष पहल तथा जिल्ला समन्वय प्रमुख शिवशंकर राय र अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरी र बुद्धन अलिको पहलमा उक्त रकम सहयोग प्राप्त भएको छ । ’

सामाजिक सञ्जालमा नेताहरुको हानाथाप देखेपछि स्थानीय भोजराज बराकोटीले आलोचना गर्दै लेखेका छन्– ‘उपचार नपाएर मृत्युवरण परेकाहरुलाई पनि मैले पहल गर्न नसक्दा म¥यो भनेर जिम्मेवारी लिने बानी बसालौं । ’ उनले अगाडी लेखेका छन्–आफ्नो खेतबारी बेचेर ल्याए पो । सरकारी रकम ल्याउन पनि यत्रो हानाथाप ?

अर्का स्थानीय एंव शिक्षक सञ्जय शर्माले ‘ कामको जस जनताले नै दिने छन् । मपाई नगरे हुन्छ ।’ भनेर लेखेका छन् । नेताहरुको हानाथाप देखेपछि पूर्व नागरिक समाजका अध्यक्ष शम्भु उपाध्यायले नेताहरुलाई ठेकेदारको संज्ञा दिदैं उनीहरुले जनतालाई जन्तु बनाउन खोजेको भन्दै रकम कहाँबाट आयो सबैलाई थाहा छ भनेर लेखेका छन् । सामाजिक सञ्जालामा धेरैले आएको रकम पारदर्शी रुपमा प्रयोग गरी छिटो स्वास्थ्य सेवा सुचारु गर्न पनि सुझाव दिएका छन् ।

https://www.youtube.com/watch?v=gGTyIUrWYYQ&t=3s



सम्बन्धित
Loading...