चौधरी उद्योगका कारण स्थानीय त्रसित
नवलपरासीपूर्व देवचुली नगरपालिका २ स्थित चौधरी उद्योगका कर्मचारीको चहलपहलले कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय त्रसित भएका छन् ।
केही दिनअघि स्थानीय सोही उद्योगमा कार्यरत कर्मचारी विरामी भइ घर पठाइएपछि स्थानीयबासी झनै त्रसित बनेका हुन् । हिजो मात्रै ती महिलालाई कोरोना संक्रमण पुष्टी भएको थियो ।
सिजी छेउछाउका बासिन्दा तथा टोल विकास समितिले स्थानीय जनप्रतिनिधिकै रोहबरमा कम्पनीको ब्यवस्थापन पक्षसँग छलफल गरी सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको थियो ।
कोरोना संक्रमणको पहिलो लहरमा कम्पनीले स्वास्थ्य सुरक्षा अपनाए पनि अहिलेको संक्रमणको डरलाग्दो अवस्था आउँदा झनै बेवास्ता गरेकाले जोखिम बढेको स्थानीय सुन्दरबस्ती टोल सुधार समिति अध्यक्ष बिनोद सिलवालले बताउनुभयो ।
आफूहरुले कम्तीमा पनि कर्मचारीलाई केही दिन कम्पनी भित्रै राखेर काम गराउनु आग्रह गरेको हाउँले बताउनुभयो ।
कम्तीमा एक साताका लागि ‘चेनब्रेक’ गर्न आफूहरुले कम्पनीसँग आग्रह गरेको एमाले वडा कमिटी अध्यक्ष बद्रीप्रसाद कोइरालाले बताउनुभयो ।
सरकारले उद्योग कलखाना निर्वाध रुपमा सञ्चालन गर्न दिएपछि पूर्व पश्चिमबाट कच्चा पदार्थहरु ल्याइने हुने ढुवानी चालक सहचालकबाट पनि उत्तिकै जोखिम रहेको नेपाली कांग्रेस वडा नम्बर २ का सभापति भेषराज न्यापानले बताउनुभयो ।
कम्पनीका अधिकृत तहका कर्मचारीहरुको भने बारम्बार पीसीआर परीक्षण गरी स्वास्थ्य सतर्कता अपनाउने गरे पनि तल्लो तहका कर्मचारीलाई भने बेवास्ता गरिएको कम्पनीकै कर्मचारीहरुले गुनासो गरेका छन् ।
उद्योग प्रशासनले भने स्वास्थ्यका सबै प्रोटोकल पूरा गरेर उद्योग सञ्चालन गरिएको जनाएको छ । टाढाबाट आउने कर्मचारीहरुलाई बसको ब्यवस्था गर्नुका साथै प्रत्येक गाडीलाई निर्मलीकरण गर्ने गरिएको उद्योगका प्रशासन प्रमुख दामोदर पौडेलले बताउनुभयो ।
कारखाना भित्रै विरामीहरुका लागि अक्सिजनसहितको आइसोेलेशन बनाइएको तथा भिडभाड हुने ठाउँमा बेरियरहरु बनाइएको पनि पौडेलको भनाई छ ।
स्थानीय र उद्योग प्रशासनबीचको छलफलपछि चहलपहल कम भए पनि अन्य सुरक्षा मापदण्डको कुनै पनि कुरा कार्यान्वयन नभएको देवचुली २ का वडाअध्यक्ष माधव केसीले बताउनुभयो ।
कारखाना मजदुर युनियन सिजी फुड्स इकाई अध्यक्ष चीनराज महतोले अहिलेको विषम परिस्थितिमा सेनिटाइजर र माक्स प्रयोग गरी आफूहरु काममा लागेको बताउनुभयो ।
