अखिल (क्रान्तिकारी) द्वारा ५० थानअक्सिजन सिलिण्डर हस्तान्तरण
बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले कोभिड–१९ विरुद्ध विद्यार्थी अभियान अन्तर्गत रूपन्देही जिल्ला स्थित लुम्बिनी प्रादेशिक अस्पताललाई शुक्रबार ५० थानअक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वास र अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विकले अस्पतालका मेसु डा. राजेन्द्र खनाललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले कोरोना भाइरसको यो महामारीमा वर्तमान राज्यव्यवस्थाले स्वास्थ्य क्षेत्रलाई सहीतरिकाले परिचालन गर्न नसक्दा देशव्यापी रुपमा अस्पतालका कर्मचारी र बिरामीहरूमा विभिन्न समस्याहरू उत्पन्न भइरहेको बताए ।
उनले अस्पतालमा अक्सिजन अभावका कारण जनताले अकालमा ज्यान गुमाउन नपरोस् भनेर मानव जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको बताए ।
डा. राजेन्द्र खनालले कोभिड–१९ ले देशव्यापी रुपमा आक्रान्त र हैरानी पारिरहेको परिस्थितीमा अस्पतालमा बेड र अक्सिजनको अभावका कारण लाखौ जनताको ज्यान गएको बताए ।
उनले अस्पतालमा अक्सिजन अभाव भइरहेको र यस मानव सङ्कटको दुखद घडीमा जीवनप्रतिको दायित्वलाई सम्झेर अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकोमा पार्टी र विद्यार्थी संगठनलाई आगामी कार्यक्रममा लागि शुभकामना सहित धन्यवाद प्रकट गरेका थिए ।
अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विकले कोरोना भाइरसको यो डरलाग्दो परिस्थितीमा शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा विभिन्न राजनीतिक दल पूर्ण बफादार भई लाग्नुको साटो कुर्ची र सत्ता प्राप्तिको लागि लिप्त रहेको बताए ।
संयोजक विरेन्द्रले देशमा दलाल संसदीय व्यवस्था रहँदासम्म स्वास्थ्य लगायत यावत् क्षेत्रमा भ्रष्टाचार, दलालीकरण, व्यापारीकरण कायम रहने भन्दै यस प्रकारका सम्पूर्ण समस्याहरूको पूर्ण समाधानका लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए ।
