सामुदायिक माछापालन, बुद्धमंगलतालमा सेतो हाँस
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरक्षेत्र भित्र रहेका सामुदायिक पोखरीहरुमा माछापालन कार्यक्रम शुरु गरेको छ ।
सामुदायिक पोखरीको संरक्षण एंव समुदायलाई उत्पादनमा जोड्ने अभिप्रायले नगरले सामुदायिक माछापालन कार्यक्रम शुरु गरेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए ।
पोखरी तालतलैया र सिमसारमा माछापालनका लागि नगरले ३ लाख रुपैया बजेट समेत प्रबन्ध गरेको छ । बिशेष गरी थारु समुदायमा माछाको परिकारलाई उत्कृष्ट परिकारमा रुपमा लिइन्छ । नगरका प्रायःजसो थारु समुदाय रहेका गाउँहरुका सामुदायिक पोखरीहरु छन् । उक्त योजनाअन्तरगत मंगलवार बर्दघाट–१३ पनई स्थित ३ बिघा १४ कठ्ठा क्षेत्रफलको सामुदायिक पोखरीमा माछाका भुरा हाल्ने कार्यक्रम सम्पन्न गरिएको नगर प्रमुख बस्यालले बताए ।
बर्दघाट नगरपालिका पशुपंन्छी तथा मत्स्य विकास अधिकृत भरत लम्सालका अनुसार सामुदायिक पोखरीमा माछा उत्पादन गरी समुदायकै लागि आयआर्जन गर्ने उद्धेश्यले कार्यक्रम संचालन भइरहेको हो ।
शुरुको दिन भएकोले २० केजी भुरा छोडिएको छ । नगरले समुदायलाई कमन कार्प , सिल्भर कार्प, बिगहेड कार्प, रहु र नैनी जातका भुरा दिने कार्यक्रम रहेको छ ।
कार्यक्रमबाट पोखरी संरक्षणका साथै भुराबाट उत्पादित माछा बिक्रीबाट आएको आम्दानी स्थानीय समुदाय र युवा कल्बहरुको हुने भएकोले समुदायको आयबृद्धि हुने लम्सालको विश्वास छ ।
पोखरीहरुलाई प्राथमिकताका आधारमा छनौट गरी सामुदायिक माछा पालन कार्यक्रम शुरु गरिएको हो । यसैबर्ष बुद्धमंगलतालमा पनि १ क्विन्टल भुरा दिने कार्यक्रम छ – लम्सालले भन्नुभयो –गतबर्ष बाउन्न घोला सिमसारमा भुरा छोडिएको थियो ।
त्यस्तै बुद्धमंगलतालमा पनि माछा र सेतो हाँस छोडिएको छ । जैविक बिबिधताको रक्षा एंव पर्यटकीय विकासका लागि सेतो हांस छोडिएको हो । २५वटा सेतो हास नगर प्रमुख धीरज शर्मा बस्यालले बुद्धमंगल तालमा छोडनुभएको हो । यो ताल बर्दघाट १२ दबिल्लामा रहेको छ । यसताललाई बुद्धकालीन तालको रुपमा लिइन्छ ।
