बिरामी बोक्न निजी गाडी गाउँपालिकालाई हस्तान्तण
हरि शर्मा –
परासी, ९ जेठ ः पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–४ हरकपुराका राकेश हरिजनले आफ्ना २ निजी गाडी गाउँपालिकालाई हस्तान्तरण गरेका छन् । एम्बुलेन्स अभावमा बिरामीहरुको उपचारमा समस्या नहोस् भनेर मारुती र स्कारपियो गाडीलाई एम्बुलेन्सको रुपमा सञ्चालन गर्न गाउँपालिकालाई दिएको कार्यबहाक अध्यक्ष अञ्जु कुमारी चौधरीले बताईन् ।
गाउँपालिकाको स्वास्थ्य संस्थाको एक एम्बुलेन्स छ । संक्रमितको संख्या बढ्दै गएको र सवारी साधन अभावका कारण समयमा अस्पताल जानबाट वञ्चित हुन नपरोस् भनेर आफूले उक्त गाडीहरु दिएको हरिजनले बताए । ‘घरमा २ वटा गाडी छन् । एम्बुलेन्स नपाएर बिरामीहरु अलपत्र परेका खबर धेरै सुने । यस्तो अवस्थामा सरकारको मात्र मुख ताक्नु हुन्न र सबैले सहयोग गर्नुपर्छ भनेर मानविय सहयोग स्वरुप गाडी दिएको हुँ ।’ हरिजनले भने ।
बिरामी ओसारपसार गर्न उनले आफंैले भत्ता दिएर चालक उपलब्ध गराएका छन् । तेलवापतको रकम समेत आफैंले दिने उनले बताए ।‘ बिरामी लैजादा आवश्यक स्वास्थ्य सामाग्री गाउँपालिकाले दिन्छ अरु सबै खर्च आफैंले दिन्छु ।’ हरिजनले भने । बिरामीका लागि आवश्यक पर्ने समयसम्म गाडी पालिकामै रहने उनले बताए । उनी सामान्य व्यवसायी हुन् । उनले गाउँ घरमा निर्माण हुने घरहरुको ठेक्का लिएर काम गर्ने गरेका छन् ।
यसअघि कार्यबहाक अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी समेत बिरामी बोक्नका लागि गाउँपालिकाले प्रयोगमा ल्याएको छ ।
