दिब्यपुरीका युवाले दिए दुम्कौली अस्पताललाई ५ थान सिलिण्डर


१६ जेठ, नवलपुर ।



कोरोना रोकथाम–नियन्त्रण र ब्यवस्थापनमा समुदायस्तरबाटै सहयोगी भूमिका निर्वाह गर्ने उदेश्यले स्थानीय स्तरमै लहर बढेको छ । तर, देवचुली नगरपालिकामा साविकको दिब्यपुरीलाई कार्य क्षेत्र बनाएको एकीकृत दिव्यपुरी विपत व्यवस्थापन समितिले संक्रमितहरुलाई हौसला प्रदान गर्न स्वास्थ्य सामग्री, शक्तिवद्र्धक खानेकुरा सहित स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिने र स्वास्थ्यकर्मीबाटै परामर्श दिने गरेकै थिए ।

यसबाहेक आज आईतवार समितिले नगरपालिकाको रोहवरमा दुम्कौली कोभिड अस्पताललाई अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरेका छन् ।




समितिका सदस्य एवं प्रवक्ता प्रदिप काफ्लेका अनुसार विपतका बेला सहयोग गर्ने मनकारीहरुबाट संकलन गरिएको रकमलाई परिचालन गरेर दुम्कौली अस्पताललाई सिलिण्डर फिर्ता नगर्ने गरी निशुल्क रुपमा ५ वटा अक्सिजन सहितको सिलिण्डर प्रदान गरिएको हो ।

अस्पताललाई १ लाख २० हजार रुपैंया मुल्य बरावरको अक्सिजन सहित सिलिण्डर हस्तान्तरण गरिएको जनाईएको छ ।

अस्पताल परिसरमा भएको सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठ, उप प्रमुख पार्वता तिवारी , प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देल, वडाध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ लगायत स्वास्थ्यकर्मी लगायत एकीकृत दिव्यपुरी विपत व्यवस्थापन समितिका अध्यक्ष कृष्ण वाग्ले सहित पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

देवचुलि १ स्थायी वसोवास रहेका ज्ञानु भुषाल , सोहि ठाँउका हाल अस्ट्रेलियावाट साजन वाग्ले र सोहि ठाउँका हाल अमेरिकावाट कुमार खाम्चा मगर तथा देवचुली ४ का हाल कोरियावाट सरोज भुषालले सहयोग रकम संकलन गरि समितिलाई पठाएको विपत व्यवस्थापन समितिका अध्यक्ष वाग्लेले वताए ।



सम्बन्धित
Loading...