जुन ५ अर्थात भोलिबाट मनसुन सुरु होला ?
पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसमी प्रणालीमा अहिले वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रही अन्य स्थानमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रहनेछ । बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
“काठमाडौंमा आज आंशिक बदली हुने छ । घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहने छ । तर, वर्षाको सम्भावना भने कमै छ,” उनी भन्छिन् ।
सामान्यतः जुन ५ बाट मनसुन भित्रिन्छ भनिए पनि विगत केही वर्षदेखि यो समयमा परिवर्तन आएको छ । त्यसैले यो वर्ष पनि जुन ५ बाटै मनसुन सुरु हुने देखिएको छ ।
“जुन १० तारिकबाट मनसुन सुरु हुने देखिएको छ यो वर्ष । हामीले गरेको मौसमी प्रणालीको यो अध्ययन अनुसार यो वर्ष जुन १० बाट मनसुन सुरु हुने छ,” मौसमविद् मानन्धर भन्छिन्, “त्यसयता केही ठाउँमा सामान्य पानी परे पनि मौसममा बदलीमात्रै हुने छ, तर ठूलो वर्षा हुने छैन ।”
जलबायु परिवर्तन तथा अन्य वातावरणीय प्रभावका कारण मौसमी प्रणालीको समयमा पनि परिवर्तन आउन थालेको छ ।हाल प्रि–मनसुनको सिजन चलिरहेको छ ।