खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट
निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो ।
दुई सरकारी कम्पनीले हाल चामल, दाल, चिनी, नुन, गेडागुडी, तेल र एसटीसी ग्यासलगायतका सामान बेच्दै आएका छन् । खाद्य कम्पनीले छ प्रकारका चामल र कर्णालीको सिमीमा सरकारले तोकेको २० प्रतिशत छुट दिनेछ । साल्ट ट्रेडिङले पाँच जनासम्मको परिवारका लागि ग्यास (एसटीसी) एउटा, चिनी दुई केजी र नुन दुई केजी, भटमास तेल एक लिटर, दुई केजीको पिठोमा छुट दिनेछ ।
“खाद्यान्न कम्पनीले हाल तेल, डीडीसीको घिउ, साल्ट ट्रेडिङको ग्यास (एसटीसी), दाल, पिठोलगायतका थुप्रै सामान बिक्री गर्दै आएको छ,” कार्यकारी अधिकृत चन्दले थपे “तर सबैमा हामी त्यो छुट दिन सक्दैनौँ । हामी आफूले खरिद गरेको सामानमा मात्रै छुट दिने तयारी गरेका छौँ ।”
खाद्य कम्पनीले यही जेठ १३ गतेदेखि लागू गरिएको नयाँ चरणको निषेधाज्ञापछि उपत्यकाका विभिन्न ठाउँमा अनलाइन वा फोनमार्फत आएका मागअनुसार निःशुल्क डेलिभरी सेवा पनि दिँदै आएको जानकारी उनले दिए। निःशुल्क डेलिभरीमा सरकारले गरेको छुट योजना कार्यान्वयन गर्न भने नसकिने चन्दको भनाइ छ ।
साल्ट टे«डिङले ग्यास, चिनी, नुन, आँटा, भटमासको तेलमा सरकारले तोकेको २० प्रतिशत छुट दिने व्यवस्था शुक्रबारदेखि नै कार्यान्वयन गर्ने भएको छ ।
साल्ट टे«डिङका उपमहानिर्देशक कुमार राजभण्डारीले निषेधाज्ञा अवधिभर पाँच जनाको एउटा परिवारका लागि चिनी दुई केजी, नुन दुई केजी, एउटा ग्यास, आँटा दुई केजीमा २० प्रतिशत छुट दिने जानकारी दिए ।