गरीब विद्यार्थीलाई दाताले दिएको रकम दुरु’पयोग

‘विद्यार्थी छात्रवृत्ति कोष’ नै मासियो




नारायण पंगेनी –

नवलपुर (कावासोती)– पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ स्थित शहीद स्मृति सामुदायिक माध्यामिक विद्यालयका गरीब विद्यार्थीका लागि दाताले दिएको छात्रवृत्ति विद्यालयले दुरु’पयोग गरेको छ ।




विद्यालयका गरीब तथा विपन्न विद्यार्थीका लागि भन्दै अहिलेका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद अधिकारीले झण्डै नौ वर्ष अघि स्थापना गरेको अक्षय कोष विद्यालयले चार वर्षअघिदेखि नामेट गरिदिएको छ ।

अधिकारीले ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । दुई चार वर्ष सोही कोषबाट आएको ब्याज वापत विद्यार्थीलाई छात्रवृत्ति दिइँदै आएको थियो ।

अधिकारीले मात्र नभई डिपी भण्डारी लगायत अन्य दाताहरुले पनि गरीब विद्यार्थीका लागि भन्दै अक्षय कोषहरु खडा गरेका थिए । डिपी भण्डारी लगायत अन्य दाताको कोष पनि वर्षौदेखि प्रयोगविहिन भई बैंक खाता नै निश्कृय भएको छ ।

विद्यालयका तत्कालिन प्र्रधानाध्यापक गोपाल ज्ञवालीले गौरीशकर बैंकमा रहेको कोषको रकम बैंक सार्नुपर्ने भएको भन्दै निकालेका थिए । ज्ञवालीले भने गत वर्ष अवकाश लिइसकेका छन् । उनी २०६८ सालदेखि यो विद्यालयका प्रधानअध्यापक थिए ।

‘अर्को बैंकमा खाता सार्नुपर्यो भनेर हेडसरले भनेपछि मैले सहि गरिदिएँ’ अधिकारीले भने, ‘कोष नै मासिएको कुरा ब्यवस्थापन समितिको अध्यक्ष भएपछि मात्रै थाहा पाएँ ।’ सानो रकम भए पनि गरीब विद्यार्थीका लागि हुन्छ कि भनेर नै आफूले बुवाआमाको नाममा छात्रवृति दिएको उनले बताए ।

 

सामाजिक लेखा परीक्षणसमेत हुन सकेन

 

छात्रवृत्ति कोष लगायत विभिन्न शिर्षकका हिसाबकिताब मिलान हुन नसक्दा सात महिनाअघि नै बुझाउनुपर्ने सामाजिक लेखा परीक्षणसमेत तयार हुन सकेको छैन ।

सो विषयमा सम्बन्धित प्रधानाध्यापकलाई बोलाएर सोध्ने काम भइसकेको विद्यालयका प्रधानाध्यापक थापाले बताए ।
विद्यालय ब्यवस्थापन समितिको पछिल्लो बैठकबाट कोषको रकम चलनचल्तीकाअनुसार साँवाब्याजअनुसार डिपोजिट गर्दिनु भन्ने निर्णय भएको पनि थापाले बताए ।

विद्यालयका पूर्वप्रधानाध्यापक ज्ञवालीले भने कोषको बैंकमा जम्मा भएको खाता स्थगित गरी उक्त रकम विद्यालयमा नै प्रयोग भएको दाबी गरे । यद्यपि अडिट रिपोर्टमा बेरुजु देखिएमा आफूले सो रकम जम्मा गर्न तयार रहेको ज्ञवालीले बताए ।

यसअघि जिल्ला शिक्षा शाखाबाट शौचालय निर्माण गर्न भनी आएको साढे ६ लाख रकम हिनामिना गरेको भनी ज्ञवालीविरुद्ध अ’ख्ति’यारमा समेत उजुरी परेको थियो ।

 

विद्यालयमा दलीय राजनीति हावी

 

जिल्लामै पहिलो पटक प्राविधिक शिक्षा सञ्चालन गरेको यो विद्यालयमा केही वर्षदेखि राजनीति हावी हुँदै गएको छ । सामुदायिक विद्यालयमा देखिएको राजनीतिक प्रभावकै कारण झण्डै एक वर्ष ब्यवस्थापन समिति अध्यक्षविहिन बनेको थियो ।

विद्यालयका स्थायी दरबन्दीका शिक्षकलाई समेत विद्यालय प्रशासनले हाजिर गर्न समेत दिएको छैन । यो विद्यालयका लागि स्थायी दरबन्दी लिएर आएका दीपक पौडेललाई विद्यालय छिर्न नदिएपछि उनले विद्यालय बाहिरै हाजिर गर्ने गरेको स्रोतले बतायो ।

प्र्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन लिएर जिल्लामै पहिलो पटक प्राविधिक शिक्षा सञ्चालन गरेको यो विद्यालयले तीन वर्षे तथा १८ महिने बाली विज्ञान तथा ३ वर्षे वन विज्ञान कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।



सम्बन्धित
Loading...