धादिङमा नदीमा डुवेर चार जना बेपत्ता


धादिङको ज्वालामुखी गाउँपालिकाका तीन जना र सिद्धलेक गाउँपालिकाका एक जना गरी चार जना नदीमा डुवेर मंगलबार देखि हराईरहेका छन् ।



बूढीगण्डकी नदीमा डुवेर वेपत्ता हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–२ बस्ने २२ वर्षीय सुवास नेपाली, दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली रहेका छन् ।

ज्वालामुखी २ जोगीटार गाउँका आफन्तको मृत्यु पछि दाहसंस्कारका लागि बूढीगण्डकी नदी किनारको पशुपति थानको घाटमा मलामी गएका ती युवाहरु लास जलाएर नुहाउने क्रममा नदीमा डुवेर हराईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले बताए ।




शव जलाएर घर फर्कनु अघि मलामीहरु नुहाउन नदीमा पसेकोमा उनीहरु तीन जनालाई भने नदीले बगाएर बेपत्ता भएपछि प्रहरी, स्थानीयवासीको टोली खोजीमा जुटेका थिए ।

घटना मंगलबार दिउँसो सवा ३ बजेतिर भएको हो । मंगलबार राती सम्म खोजी गर्दा पनि नभेटिएपछि बुधवार विहानै देखि खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी, गजुरी गाउँपालिका–१ स्थित त्रिशूली नदीमा माछामार्न गएका १ जना मंगलबार पौने ४ वजे देखि हराईरहेका छन् । धादिङकै सिद्धलेक ६ का २८ वर्षीय राम बहादुर बिसंखे त्रिशूली नदीमा जाल हान्ने क्रममा लडेर बेपत्ता भएका हुन् ।

घटना लगत्तै नेपाली सेना, प्रहरी र स्थानीयले राती सम्म खोजतलास गरेको फेला नपरेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । फरक फरक स्थानबाट नदीमा हराईरहेका चारै जनाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।



सम्बन्धित
Loading...