मध्यविन्दु नगरपालिकाका पेशागत संगठन नगर शिक्षा ऐन २०७८ को विरोधमा
प्रिय धन, –
चोरमारा, २६ जेठ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको पेशागत संगठनहरु नगरपालिकाले ल्याएको नगर शिक्षा ऐनको विपक्षमा उभिएका छन् ।
मध्यविन्दु नगरपालिका भित्रका पेशागत शिक्षक संगठनहरुले बुधबार मध्यविन्दु नगरपालिकाको शिक्षा शाखामा ज्ञापन पत्र बुझाएर नगरपालिकाले ल्याएको नगर शिक्षा ऐनको विरोध गरेको हो ।
नगर शिक्षा समितिबाट पारित नगर शिक्षा ऐन २०७८ माथि असन्तुष्टि जनाउदै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा नगर शिक्षा ऐन २०७८ का मुख्यत ४ बुँदामा असहमति रहेको भन्दै सुझाव समेत पेश गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन मध्यविन्दुका अध्यक्ष लेखराज भण्डारीले बताए ।
संगठनका तर्फबाट सुझाव संकलन माग गरिएका कारण सुझाव पेश गरिए तापनि कुनै पनि सुझावको मनन नगरिएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन मध्यविन्दु नगर समिति र एकीकृत अखिल नेपाल शिक्षक संगठन मध्यविन्दु नगर समितिले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै ज्ञापन पत्र बुझाएको उनले बताए ।
“ शिक्षा ऐनको दफा १७ को उपदफा १ मा व्यवस्था भएको सामुदायिक विद्यालयको प्रधानाध्यापक सम्बन्धी व्यवस्थाका सम्बन्धमा संघीय शिक्षा ऐन नआउँदा सम्मका लागि विद्यमान शिक्षा नियमावलीको प्रतिकुल हुने गरि व्यवस्था गरिएको हुँदा संगठनको असहमति रहेको छ । “ बिज्ञप्तिमा भनिएको छ ।
त्यस्तै सामुदायिक विद्यालयका प्रधानाध्यापक सम्बन्धि व्यवस्था, विद्यालय व्यवस्थापन समिति गठन तथा मध्यविन्दु नगर शिक्षा ऐन २०७८ लाइ नगर कार्यपालिकाबाट पारित गर्नु भन्दा पहिले संगठनले दिएका सुझाव संसोधन गर्न अनुरोध गरिएको छ ।
उनीहरुले जबर्जस्ती नगर शिक्षा ऐन पारित गरिए कानुनी उपचार खोज्दै नगरपालिकालाई शिक्षा ऐन लागु गर्न असहयोग गर्ने चेतावनी समेत दिएको एकीकृत अखिल नेपाल शिक्षक संगठन मध्यविन्दुका अध्यक्ष सुन्दर खनालले बताए ।
