नवलपुरमा किन भईरहन्छ अनियमित विद्युत कटौती
रामकुमार श्रेष्ठ –

नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो समय अनियमित रुपमा दैनिक ३/४ पटक भन्दा बढी विद्युत कटौती हुने गरेको छ ।
एक पटकमा ५ मिनेटदेखि २ घण्टा सम्म विद्युत कटौती हुने गरेको छ । जसले गर्दा सेवाग्राही मारमा परेका छन् ।
बढ्दो गर्मीको बेला रातको समयमा समेत विद्युत कटौती हुँदा झन सास्ती हुने गरेको सेवाग्राहीहरु बताउँदछन् ।
पानी परेको समयदेखि खुल्ला मौसम हुँदा पनि पटक पटक विद्युत कटौती हुने गरेको छ ।
तर नेपाल विद्युत प्राविधकरण कावासोती शाखा प्रमुख मधुसुदन यादव भने अनियमित विद्युत कटौती नभएको बताउँछन् ।
किन भईरहन्छ त विद्युत कटौती ?
नेपाल विद्युत प्राधिकरण शाखा कावासोतीका प्रमुख मधुसुदन यादवका अनुसार विद्युत तारसँग जोडिएका काठ तथा रुखका हाँगाविँगा काट्दा, पानी परेर तारमाथि रुखहरु पर्दा बेसी मात्रामा विद्युत कटौती हुने गरेको छ ।
एउटा रुखको हाँगा वा बाँस आदि काट्दा ४ पटकसमम लाइन काट्नु पर्ने उनी बताउँछन् । त्यसले गर्दा पनि छिनछिनमा विद्युत कटौती भएको जस्तो हुने उनले बताए ।
त्यसैगरी कही तारमा हरियो रुखको हाँगा, बाँस, रुख पर्दा लामो समय विद्युत कटौती हुने गरेको उनको भनाई छ ।
कहाँ समस्या भएको थाहा नहुने र विद्युत दिंदा पटक पटक ट्रिप हुने भएकोले कहिले काँही लामो समय विद्युत कटौती हुने गरेको उनले बताए ।
तथापि २४ सैं घण्टा कर्मचारी एलर्ट राखिएको उनको दावी छ ।
कम भोल्टेज उस्तै समस्याः
अहिले निषेधाज्ञाका कारण केही साना तथा ठूला उद्योगहरु बाहेक अधिकांश उद्योग कलकारखाना बन्द छ तथापि बेलाबेलामा कम भोल्टेज अर्थात पावरले सेवाग्राहीहरु मारमा पर्ने गरेका छन् ।
सामान्य तथा पंखा पूरा गतिमा चल्न सक्ने, पानी तान्ने मोटरले पानी तान्न नसक्ने, बेलाबेलामा आफै फ्रिज बन्द हुने र आफै चल्ने गरी विद्युत आउने गरेको सर्वसाधारणहरुको गुनासो छ । जसले गर्दा विद्युत उपकरणहरु छिट्टै विग्रने सम्भावना बढी हुन्छ ।
नेपाल विद्युत प्राधिकरण कावासोतीका प्रमुख यादवका अनुसार नवलपुरमा सामान्य अवस्थामा प्रगतिनगर शव स्टेशनमा दैनिक २ सय देखि २ सय १० एम्पियर विद्युत खपत हुनेमा अहिले गर्मीको समय २ सय ३० देखि २ सय ४० एम्पियर र कहिलेकाँही २ सय ४५ एम्पियर सम्म विद्युत खपत हुने गरेको छ ।
उनी भन्छन् – अत्यधिक विद्युत खपत हुने समयमा भोल्टेज कम आउनु स्वभाविक हो ।
अहिले गर्मीको समय पंखाका साथै फ्रिज, एसी, सिचाई मोटर लगायत बढी चल्ने समय भएको कारणले पनि विद्युत बढी खपत हुने गरेका उनले बताए ।
निषेधाज्ञाको समय जरिवाना छुट
अहिले नवलपुर सहित देशभर निषेधाज्ञा छ । नवलपुरमा पनि पटक पटक थप गर्दै १ महिना बढी निषेधाज्ञा भईसकेको छ र अझै केही समय लम्बिने देखिन्छ ।
यो निषेधाज्ञाको समयमा विद्युत महशुलमा कुनै जरिवाना नलाग्ने कावासोती शाखा प्रमुख यादवले बताए ।
उनका अनुसार ग्राहकहरुलाई नजिकको विद्युत वितरण केन्द्रमा फोन गरेर आफ्नो मिटर बक्समा चढेको नम्बर टिपाउन र अनलाइनबाटै भुक्तानका लागि पनि भनिएको छ । तथापि यस्तो पहुँच नहुनेले भने निषेधाज्ञा खुले लगतै तिर्न पर्ने र निषेधाज्ञा खुलेको निश्चित समय भित्र नतिरे जरिवाना लाग्ने उनले बताए ।
त्यसैगरी बैशाख महिनामा चढेको मिटर रिडिङ्गको आधारमा जेठको अंक सम्बन्धित ग्राहकको खातामा चढाइएको उनले बताए ।