७ करोडको लागतमा बन्यो पर्यटक बसपार्क


पर्यटक बसपार्क निर्माण कार्य सम्पन्न भएको छ । पोखरा महानगरपालिका–७, राष्ट्र बैंकचोक नजिक पर्यटन विभागको लगानीमा पोखरामा रिजिटपेमेन्ट (ढलान) संरचनामा पर्यटक बसपार्क हालै निर्माण कार्य सम्पन्न भएको विभागका इन्जिनियर सचिन्द्रकुमार यादवले बताए ।




विभागले आशिष–सिएम–मिसन जेभीलाई ठेक्का सम्झौता गरेपछि कोरोनाले गर्दा थपिएको समयमै उक्त पर्यटक बसपार्क निर्माण कार्य सम्पन्न भएको उनले जनाए । पर्यटन विभागले नेपालमै पहिलो पटक ७ करोडको लागतमा पर्यटक बसपार्क बनाएको यादवले बताए ।

करिब ४० वटा पर्यटक बससहित केही ट्याक्सी र माइक्रोबस समेत पार्किङ गर्न मिल्ने गरी चारैतर्फ कम्पाउण्डसहितको बसपार्क निर्माण गरिएको ई.यादवले बताए । उनका अनुसार बसापर्क भित्र ८ वटा सटरसहितको सौचालय, बगैंचा, प्रतिक्षालय, बसपार्कमा सोलार प्यानल वोर्ड, दुई वटा गेट, पर्खालसहितको लगायतका संरचना समेत बनेको छ ।




बसपार्कको पश्चिम र पूर्वी भागमा दुवैतर्फ एक सय ३० मिटर लामा नाला (ढल) निर्माण गरेको छ भने बसपार्कको बीचमा आकर्षक आइल्यान्ड गार्डेन बनाइएको जसमा पर्यटकहरुले उत्तरी हिमालतर्फको हिमश्रृखला अवलोकन गर्न पाउने छन्। पोखरा पर्यटन बस पार्कको करिब एक प्रतिशत जसो अन्तिम फिनिसिङको मात्र काम बाँकी रहेको निर्माण कम्पनीका निर्देशक शान्तकुमार श्रेष्ठले बताए ।

उनका अनुसार कम्पनीले १ सय ३० मिटरको लम्वाई र ५० देखि ७० मिटरसम्मको चौडाईमा रिजिटपेमेन्ट (ढलान) गरेको छ भने उक्त ढलान करिब ८ इन्चको रहेको छ । उक्त कम्पनीले करिब दुई बर्ष अघि उक्त बसपार्क निर्माण गर्न सुरु गरेको थियो । उक्त बसपार्क पर्यटन विभागलाई बुझाएको १३ महिनासम्मको कम्पनीले ग्यारेन्टी गर्ने भएको छ ।

पोखरामा पर्यटक बसपार्क बनेसँगै हाल केही पर्यटक बसहरु भित्र व्यवस्थापन गर्न सुरु गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । पोखरामा व्यवस्थित पर्यटक बसपार्क नहँुदा पोखरा आउने पर्यटकलाई समस्या हुने गरेको अवस्थामा बसपार्क बनेसँगै आफूहरु समेत खुशी भएको उनले जनाए । उनले भने, “हामीले पोखरामा पर्यटक बसपार्क बनाउन धेरै पटक प्रयास गरेका थियौं, तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको पहलमा यो सम्भाव भएको हो, उहाँलाई हामीले स्मरण गर्नु पर्छ ।”

पर्यटन विभागले पोखरा महानगरलाई उक्त बसपार्क हस्तान्तरण गरेसँगै उक्त बसपार्क आफूहरुले सौन्दर्यकरण गर्दै निश्चित रकम राज्यलाई दिने गरी स्वमित्व लिन चाहेको अध्यक्ष सिग्देलले जनाए । बसपार्क भित्र पर्यटकहरुको लागि कफी सप, गिफ्ट पसल, पर्यटक प्रहरी कक्ष, बगैंचा लगायतको संरचना र दैनिक सरसफाई गर्नुपर्ने उनले जनाए ।

स्थानीय सुकमाया परियारले आफ्नो घर अगाडी व्यवस्थित पर्यटक बसपार्क बनेकोमा खुशी भएकी छन् । धेरै वर्षदेखि हिउँदमा धुलो र पानी पर्दा हिलो हुने बसपार्क अब भने धेरै सहज हुने उनले जनाइन् ।

पोखरा पर्यटन परिषदले हाल एक करोड ६० लाखको लागतमा पर्यटक बस पार्कको सौन्दर्यकरणको लागि महानगरमा आफूहरुले प्रस्ताव पेश गरेको अध्यक्ष सिग्देलले जनाए ।

नाट्टामा आबद्ध करिब ३० कम्पनीका साना तथा ठूला गरी १ सय २८ वटा गाडी रहेको उनले जनाए । पोखरा काठमाडौं, पोखरा चितवन, पोखरा बुटवलमा सामान्य दिनमा दैनिक ३० देखि ३२ वटा गाडीहरु जाने तथा आउने गरेको नाट्टाले जनाएको छ ।

तत्कालिन पर्यटनमन्त्री स्व.रविन्द्र अधिकारीको पालामा उक्त योजना परेको थियो । कोरोना संक्रमणको कारण हाल निर्माण भएको पर्यटक बसपार्क पोखरा महानगरपालिकालाई विभागले हस्तान्तरण गर्नमा केही ढिलाई भएको छ ।




सम्बन्धित
Loading...