गैँडाकोटको विकास खर्च करिब ४५ प्रतिशत मात्रै


रासस –




नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाल चालू आर्थिक वर्षको हालसम्म पुँजीगत खर्च करिब ४५ प्रतिशत मात्र गरेको छ ।
नगरप्रमुख छत्रराज पौडेलले कोरोनाका कारण विकास निर्माणका कामहरू प्रभावित भएकाले पुँजीगत खर्च थोरै भएको बताए । नगरपालिकाले पुँजीगत खर्च र चालु खर्च गरी जम्मा ५०.०१ प्रतिशत रकम खर्च गरेको भन्दै नगरप्रमुख पौडेलले पुँजीगत खर्च ४४.९५ प्रतिशत मात्रै भएको बताए ।
चालू आर्थिक वर्षका लागि नगरपालिकाले कूल ९५ करोड ४८ लाख ७६ हजार ८२१ बजेट विनियोजन गरेको थियो । तीमध्ये हालसम्म ४७ करोड ८४ लाख १५ हजार २७ रूपैयाँ खर्च भएको नगरप्रमुख पौडेलले जानकारी दिए । उनका अनुसार चालूतर्फ ३१ करोड १८ लाख ७५ हजार ३५७ खर्च हुँदा पुँजीगततर्फ १६ करोड ६५ लाख ३९ हजार ६७० रूपैयाँमात्रै खर्च भएको छ ।
नगरपालिकाले १० महिनाको अवधिमा पुँजीगत खर्च ३७ करोड ४ लाख ५० हजार ४५९ खर्च गर्ने लक्ष्य राखेको थियो । नेपालमा असारे विकासको रूपमा पुँजीगत खर्च हुने प्रवृत्ति अझै पनि कायम हुँदा विकास निर्माणका कामले गति लिन सकेका छैनन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामप्रसाद सुवेदीले लक्ष्यअनुसार पुँजीगत खर्च गर्न नसक्दा संरचनात्मक हिसाबले समस्या बढ्दै जाने सम्भावना रहने बताए । नगरपालिकामा हालसम्म गैर आवासीय भवनतर्फ २६.६९ प्रतिशत, सडक तथा पुल निर्माणमा ५८.८ प्रतिशत, विद्युत् संरचना निर्माणमा ६१.१२ प्रतिशत, तटबन्ध तथा बाँध निर्माणमा ३६.११ प्रतिशत, सिँचाई संरचना निर्माणमा ४९.५५ प्रतिशत, खानेपानी संरचना निर्माणमा २४.३२ प्रतिशत, वन तथा वातावरण संरक्षणमा ३५.६१ प्रतिशत खर्च भएको उनले जानकारी दिए । चालु आर्थिक वर्ष सकिन बाँकी रहेको ३७ दिनमा नगरपालिकाले कूल बजेटको करिब ५० प्रतिशत रकम खर्च गर्नुपर्ने देखिन्छ ।
आर्थिक वर्षको शुरुवाती महिनामा भन्दा पनि पछिल्ला महिनामा अत्यधिक योजनागत कार्य हुने र बजेट निकासा पनि सोही समयमा नै बढी हुने गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ । पुँजीगत खर्च शीर्षकमा विनियोजित बजेट फ्रिज हुने त्रासका कारण समेत विकास निर्माण तथा योजनागत कार्यहरू आर्थिक वर्षको अन्त्यमा तीव्ररुपले हुने गरेका छन् ।
नगरपालिकाले हालसम्म आयतर्फ ७६.७२ प्रतिशत लक्ष्य हासिल गरेको जनाएको छ । चालू आर्थिक वर्षमा नगरपालिकाको ९५ करोड ४८ लाख ७६ हजार ८२१ प्रस्तावित आयमध्ये जेठ १० गतेसम्म वास्तविक आम्दानी ७३ करोड २५ लाख ८३ हजार ४०० रहेको सुवेदीले जानकारी दिए । नगरपालिकाको आयतर्फ २२ करोड २२ लाख ९३ हजार ४२१ मौज्दात रहेको छ ।
नगरपालिकाले संघीय सरकारबाट ३४ करोड ५६ लाख ९९ हजार ३४० प्रदेश सरकारबाट १ करोड ८९ लाख ८६ हजार आम्दानी गरेको छ भने राजस्व बाँडफाँडबाट १३ करोड ८५ लाख ३ हजार ६३३ रूपैयाँ आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।
त्यस्तै नगरपालिकाले आन्तरिक श्रोतबाट २२ करोड ९३ लाख ९४ हजार ४२७ रूपैयाँ आम्दानी गरेको छ । जसमध्ये सबैभन्दा धेरै एकीकृत सम्पत्ती करबाट ८१ लाख ७३ हजार ८०३ तथा घरवहाल करबाट ६६ लाख ४५ हजार ९९३ आम्दानी गरेको नगरपालिकाले जनाएको छ ।
कोरोना भाइरस संक्रमण जोखिमका कारण विकास निर्माणका आयोजनाहरूमा काम गर्न मजदूर नपाउँदा समेत पुँजीगत खर्च प्रभावित भएको नगरपालिकाले जनाएको छ । “अवस्था सामान्य रहेको भए यस अवधिमा नगरपालिकाले पुँजीगत खर्च लक्ष्यअनुसार नै गर्न सक्थ्यो” नगरप्रमुख पौडेलले भने, “असामान्य अवस्थाका कारण मजदूर नपाउँदा निर्माण आयोजनाहरू प्रभावित भएर विकास खर्च लक्ष्यअनुसार खर्च हुन सकेन ।”




सम्बन्धित
Loading...