लुम्बिनी प्रदेशको नीति कार्यक्रम बहुमतद्वारा पारित





बुटवल– लुम्बिनी प्रदेश सभामा लुम्बिनी प्रदेश सरकारले पेश गरेको नीति कार्यक्रम बहुमत पारित भएको छ ।

आइतबार नीति कार्यक्रममाथि उठेका जिज्ञासामाथि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि सदनमा सभामुख घर्तीले नीति कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो ।




उनले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । विपक्षी दलहरु नीति कार्यक्रम असफल बनाउने रणनीतिमा रहे पनि सरकारको नीति कार्यक्रम भने पास भएको छ ।

कोभिड–१९ को महामारी नियन्त्रण, व्यवस्थापन र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गरेको थियो । दुर्गममा विशेषज्ञ सेवासहितको चिकित्सक खटाउनेदेखि आयुर्वेदिक चिकित्सा पद्धतिलाई प्रभावकारी बनाउने सरकारको नीति छ ।

सरकारले नीति तथा कार्यक्रममा कोभिड–१९ सहित सबैखाले महामारीमा स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउने गरी पूर्वाधार निर्माण, औषधि, स्वास्थ्य उपकरण र पर्याप्त जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

अस्पताल र स्वास्थ्य चौकीहरूमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको प्रोत्साहन पनि प्राथमिकतामा छ । ५० शय्याका अस्पतालमा पर्याप्त पूर्वाधारसहितको विशेषज्ञ सेवा, आकस्मिक स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउने र प्रदेशका दुर्गम क्षेत्रमा विशेषज्ञ सेवासहितका स्वास्थ्य शिविर चलाउने नीति अघि सारेको छ ।

सरकारले प्रदेशका आयुर्वेदिक स्वास्थ्य सेवा तथा चिकित्सालयलाई पनि प्रभावकारी गराउने भएको छ । आयुर्वेदिक औषधिको उत्पादन र वितरण प्रभाकारी बनाउन नवलपरासीको बर्दघाट र रुकुम पूर्वमा आयुर्वेदिक चिकित्सालयको स्थापना गर्दै विद्यार्थीलाई जडीबुटी पहिचानका लागि कार्यक्रम सञ्चालन गर्ने नीतिमा उल्लेख छ । त्यसका लागि लुम्बिनी र राप्ती आयुर्वेद चिकित्सालयलाई ‘नमुना चिकित्सालय’ को रूपमा विकास गर्ने सरकारको तयारी छ ।

प्रदेशका सबै जिल्ला अस्पताललाई ५० शय्यामा विस्तार गर्ने, लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई प्रदेश गौरवको आयोजना बनाउने, दाङको लमहीमा आधुनिक स्तरको ट्रमा सेन्टर, प्यूठान र गुल्मी अस्पतालमा डायलसिस सेवा विस्तार गर्ने नीतिमा उल्लेख छ । प्रदेशभित्रका नागरिकलाई मिर्गौला डायलसिस गर्दा आवश्यक पर्ने सुईमा लाग्ने खर्चमा ५० प्रतिशत अनुदान दिने सरकारले घोषणा गरेको छ ।

प्रदेशका जिल्लामा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसम्बन्धी परियोजनामार्फत आधारभूत तहदेखि उच्च शिक्षासम्म प्राविधिक शिक्षालाई प्रदेशको विकासका लागि मानव पुँजी निर्माण गर्ने संयन्त्रका रूपमा रूपान्तरण गर्ने नीति छ ।

स्थानीय तहसँगको सहलगानीमा ‘एक स्थानीय तह, एक नमुना विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने, मुस्लिम समुदायका छात्राहरूको शिक्षामा सहभागिता वृद्धि गर्न कपिलवस्तु, रूपन्देही, दाङ, बर्दिया, बाँके र नवलपरासीमा नमुना विद्यालय सञ्चालन गर्ने, स्वास्थ्य, वन, कृषि, सूचना प्रविधि र इन्जिनियरिङलाई प्राथमिकतामा राखी प्रदेशको पूर्ण स्वामित्वमा बाँकेको खजुरामा प्रदेश प्राविधिक विश्वविद्यालय स्थापना गर्ने नीति छ ।

खेल क्षेत्रको विकासका लागि दाङको नेत्रलाल अभागी रंगशाला, रूपन्देहीको उजिरसिंह रंगशालालाई दक्षिण एसियाली खेलकुद (साग) स्तरमा विकास गर्दै स्थानीय तहसँगको लागत सहभागितामा ‘एक स्थानीय तह एक खेलकुद संरचना’ निर्माण हुनेछन् ।

विकास पूर्वाधारतर्फ अधिकांश पुरानै योजनालाई निरन्तरता दिइएको छ । प्रदेशका गौरव तथा प्रदेशस्तरका कृषि सडक, पर्यटन स्थल पहुँच मार्ग, सीमा क्षेत्र सडक, उद्योग स्थल पहुँचमार्गलगायतका प्रदेशस्तरीय सडक योजनालाई निरन्तरता दिएको छ ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रको वैकल्पिक मार्ग चरङ्गे–झुम्सा सडकमा पुल निर्माण गरी आगामी वर्ष सञ्चालन गर्ने योजना छ ।

संघीय र प्रदेश सरकारबाट निर्माणाधीन १ सय ५४ पुलसहित आगामी वर्ष कम्तीमा १ सय १ पुल निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ । तीन वर्षदेखिको प्रदेश सरकारको योजना ‘एक घर एक धारा’ अभियानको संकल्प पूरा गर्न सबै स्थानीय तहसँगको समन्वयमा खानेपानी योजना सञ्चालन हुनेछन् ।
कृषि क्षेत्रमा ‘म किसान, प्रदेशको सान’ भन्ने नारासहित कृषि क्षेत्रमा संलग्न उत्कृष्ट कृषक, कृषि उद्यमी, कृषि सहकारीलाई ‘मुख्यमन्त्री उत्कृष्ट कृषक÷उद्यमी÷सहकारी’ पुरस्कार प्रदान गर्ने सरकारको नीति छ ।

प्रदेशका रैथाने बाली तथा स्थानीय पशुपन्छीको उत्पादनमा जोड, रुकुम पूर्वलाई अर्गानिक कृषि उत्पादनको जिल्ला, ‘एक जिल्ला एक निर्यात’ हुने बाली पहिचान, ‘एक स्थानीय तह, एक स्रोत केन्द्र तथा नश्ल संरक्षण केन्द्र स्थापनालगायतका कृषि क्षेत्रमा आधा दर्जन नारामुखी कार्यक्रम छन् ।
यसअघिको ‘कृषि स्मार्ट गाउँ’ अभियानलाई निरन्तरता दिइएको छ । कृषिको व्यावसायिक उत्पादन वृद्धि गर्न स्थानीय तहमा भूमि बैंक स्थापना, जग्गा उपयोग गर्नेलाई प्रोत्साहन, सहुलियतपूर्ण कर्जा, उत्पादनमा अनुदान, ब्याजमा अनुदानमार्फत उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गर्ने सरकारको प्राथमिकता छ ।

प्रदेशमा कच्चा पदार्थमा आधारित उद्योगको स्थापना र विकासमा निजी क्षेत्रसँग सहकार्य गर्ने, संघीय सरकारसँगको सहकार्यमा ठूला औद्योगिक क्षेत्र र औद्योगिक करिडोर निर्माणमा जोड दिने नीति कार्यक्रममा उल्लेख छ ।

घरेलु, साना तथा मझौला उद्योगमार्फत रोजगार सिर्जना गर्ने र ‘एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम’ स्थापना कार्यक्रम आगामी वर्ष पनि निरन्तर हुनेछ । नयाँ उद्योग दर्तामा लाग्ने शुल्क मिनाहा गर्ने नीतिबाट उद्योग स्थापना भई १० हजारलाई रोजगारी पुग्ने सरकारको उद्देश्य छ ।

दाङलाई अल्लो र खुकुरी, गुल्मीलाई कफी, पाल्पालाई ढाका तथा करुवा उत्पादन र बर्दियालाई बेतबाँस उद्योग, रुकुम पूर्वलाई ऊनीको कम्बल हबका रूपमा विकास गर्दै लैजाने नीति पनि सरकारले अघि सारेको छ ।

पर्यटन क्षेत्रको विकासमार्फत प्रदेशको पहिचान झल्काउन र आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न पाल्पाको श्रीनगर, रोल्पाको होलेरी र अर्घाखाँचीको नरपानीमा हिलस्टेसनको पूर्वाधार निर्माण कार्य सुरु गर्ने पनि सरकारको लक्ष्य छ ।

ग्रामीण क्षेत्रमा होमस्टे सञ्चालन, संस्कृति संरक्षण, रात्रिकालीन पर्यटन व्यवस्थापन गर्न ‘टुरिज्म जोन’ घोषणा गरी लुम्बिनी, बुटवल र नेपालगन्जलाई राष्ट्रिय स्तरको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने पनि सरकारको नीति छ ।




सम्बन्धित
Loading...