मनाङ्गमा बेलीबृज र बिधुतगृह बगायो, बाढीले गाउँ जलमग्न र चामे बजार डुवानमा

लमजुङ १ असार –
निरन्तर बर्षासंगै आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ र चामे बजार डुबानमा परेको छ । नासों गाउँपालिका १ मा पर्ने तालगाउँ सोमबारदेखिको निरन्तरको बर्षाका कारण मर्स्याङ्दी नदि बढेर बाढी आएर डुबानमा परेको हो । मर्स्याङ्दी छेउमा रहेका ताल गाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेको स्थानीय करसाङ गुरुङले बताए । बाकी घर पनि जोखिममा परेको छ । स्थानीय घर छाडेर बाहिर सुरक्षित ठाँउमा बसेकाले मानविय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेले बताए ।
उनका अनुसार तालगाउँ र चामे बजारका स्थानीय अहिले सुरक्षित ठाउँमा वस्तीको कुना क्षेत्र, पानी नभएको ठाउँमा बसेका छन् । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै जाँदा पानी थुनिएर वस्ती माथि डुबाउँदै आएको स्थानिय मिनराशी गुरुङले बताइन । मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले उक्त क्षेत्रमा प्रहरी खटिसकेको बताए । तालमा रहेको प्रहरी चौकीका टोली र स्थानीय उक्त क्षेत्रको उद्धारमा लागेका छन् । उनका अनुसार गाउँसंगै विद्यालय र वडा कार्यालय पनि डुबानमा परेको छ ।
बर्षाका कारण चामेको नयाँबजार नजिकैको घट्टेखोला बढेर वस्तीभित्र बाढी पसेको सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताए । विभिन्न खोलाले बगाएको ठूला ढुँगाले मस्र्याङदी नदिको बहाव रोकिदा मनाङको सदरमुकाम चामे समेत डुवानको जोखिममा परेको छ । चामेस्थित तातोपानी कुण्ड नदिले बगाएको छ भने पारी पट्टीका केहि घरहरु डुव्न थालेका छन् । लगातारको वर्षापछि आएको बाढीले मनाङमा विद्युतगृह, बेलिब्रिज र काठेपुल बगाएको डिएसपी पन्थीको भनाई छ । सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले क्षति पुर्याएको छ ।
चामेको नयाँबजारका स्थानीयलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयले सुरक्षित स्थानमा स्थान्तरण गरेका छन् ।